काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ होडबाट बाहिरिएको छ ।बुधबार भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले पराजित भएपछि लुम्बिनी एक खेल अगावै लिग चरणबाट बाहिरिने पक्का भएको हो । ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ ।
काठमान्डुले भने ४ खेलमा दोस्रो जित हो र ४ अंक खातामा जोडेको छ । काठमान्डुले प्लेअफ सम्भावना पनि कायम राखेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौँ गुर्खाजले सबै विकेट गुमाएर १०३ रनको योगफल बनाएको थियो । १०४ रनको लक्ष्य पाएको लुम्बिनी लायन्स ८५ रनमै सीमित रह्यो।
लुम्बिनीका लागि सन्दिप जोराले २६ रन, उन्मुक्त चन्दले १४ रन सूर्य तामाङले अविजित ११ रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बलिङमा काठमान्डुका कप्तान करण केसीले ४ विकेट, दिपेश कँडेलले ३ विकेट लिए । जेरार्ड एरासमसले २ विकेट र रासिद खानले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थि टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन बनाएको हो । काठमान्डुका लागि भिम सार्कीले सर्वाधिक ३१ रन बनाए । यस्तै डान डौथवेटले २१, प्रतिक श्रेष्ठले २० र स्टेफेन इस्किनाजीले १३ रन बनाए ।
बलिङमा साद विन जफरले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । रामोन सिमोण्ड्स र अभिशेष गौतमले २–२ विकेट लिए । सूर्य तामाङ र विवेक यादवले समान १ विकेट लिएका थिए ।