काठमाडौं । नेपाल पहिलो पटक नेत्रहीन क्रिकेट विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा दक्षिण अफ्रिका, बंगलादेशसँगै पराजित भएपछि नेपाल चौथो स्थानमा रहँदै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।
नेपालले भोलि आइतबार हुने पहिलो सेमिफाइनलमा पाकिस्तानको सामना गर्नेछ । नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट रंगशालामा हुनेछ ।
नेपालले ६ खेलबाट ६ अंक नै बनाएको छ । नेपालले अफगानिस्तान र दक्षिण अफ्रिकालाई हराएको थियो ।
भारतले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि नेपालले भारतसँगको खेलमा वाकओभर वापतको दुई अंक प्राप्त गरेको थियो । नेपालले लिग चरणको खेलमा दक्षिण अफ्रिकालाई ११ रनले हराएको थियो भने अफगानिस्तानविरुद्ध १ सय ८ रनको जित दर्ता गरेको थियो ।
नेपाल, पाकिस्तान र श्रीलंकासँग पराजित भए पनि सेमिफाइनलमा पुगेको हो । नेपाल र पाकिस्ताबीचको खेल भोलि आइतबार बिहान पौने ११ बजे सुरु हुनेछ ।
भोलि नै हुने दोस्रो सेमिफाइनलमा बंगलादेशले श्रीलंकासँग खेल्नेछ । नेपालले सन् २०१२ देखि नेत्रहीन विश्वकपमा सहभगी बनेको भए पनि पहिलो पटक सेमिफाइनलमा पुगेको हो ।