काठमाडौं । एसियान क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा हुने यु–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ ।
उक्त तालिका अनुसार समूह बी मा रहेको नेपालले पहिलो खेलमा श्रीलंकाको सामना गर्ने छ ।
एसिसीले शुक्रबार सार्वजनिक गरेको तालिका अनुसार मंसिर १४ देखि २३ गतेसम्म हुनेछ। नेपालले पहिलो दिन नै श्रीलंकाको सामना गर्ने भएको छ ।
नेपालले दोस्रो खेलमा मंसिर १६ गते बंगलादेशको सामना गर्नेछ । नेपालले अन्तिम खेलमा मंसिर १८ मा अफगानिस्तानको सामना गर्नेछ ।
५० ओभरमा हुने खेल युएईमा आयोजना हुँदैछ । एसिसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागीता जनाउँदै छन् । प्रतियोगितामा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए ।
नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसिसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए। गत अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।
प्रतियोगितामा सहभागी ८ टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह विभाजनमा नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् । हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउँने छन् ।