काठमाडौं । नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी छन् । फ्रान्सको पेरिसमा जारी पेरिस पारा ओलम्पिकमा पलेशाले के ४४ क्याटेगोरी अन्तर्गत महिला ५७ केजी मुनि तौलमा कांस्य जितेकी हुन् ।
कांस्य पदकको लागि भएको खेलमा पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गरेकी हुन् । नेपाली खेलकुदको इतिहासमै ओलम्पिकमा आधिकारिक पदक जित्ने पलेशा पहिलो खेलाडी बन्दै कीर्तिमान रचेकी छिन् ।
नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारा ओलम्पिकमा सहभागिता जनाउन थालेको हो । त्यसअघि पहिलो रिपेचेजमा फ्रान्सकी सोफी काभरजानलाई २–१ ले पराजित गर्दै पलेशा कांस्य पदक नजिक पुगेकी थिइन् ।
पलेशाले आजै भएको पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१–० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरफाइनल पुगेकी थिइन् । तर क्वाटरफाइनलमा पलेशा विश्व नम्बर ब्राजिलियन खेलाडी सिल्भाना मायारा पर्नान्डेजसँग १०–८ ले पराजित भइन् । फर्नान्डेज विरुद्ध सुरुवाती अग्रता लिए पनि अन्तिम समयमा जोगाउन नसक्दा पलेशा पराजित भएकी हुन् ।
पलेशाले यसअघि २०२१ मा टोकियो पारा ओलम्पिकमा दुई बाउट जितेर पदक नजिक पुगेकी थिइन् । तर कांस्य पदक भिडन्तमा उनी चिनियाँ खेलाडीसँग पराजित भइन् । लगातार दोस्रो पटक पारा ओलम्पिक खेलेकी पलेशा यस पटक भने छनोट चरण पारा गरेर पारा ओलम्पिक पुगेकी हुन् ।
गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पेरिस पारालिम्पिकमा सहभागिता निश्चित गरेकी थिइन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् ।
पलेशाले टोकियो ओलम्पिक २०२० मा पनि खेलेकी थिइन् । यस अघि तेक्वान्दोका भरत सिंह महता के–४४, पुरुष ५८ के.जी मुनि तौल समूहअन्तर्गत राउन्ड अफ १६ जापानका मित्सुया टनाकासँग १९–३ ले पराजित भएका थिए । पेरिस पारालम्पिकमा सहभागी नेपालका तेस्रा खेलाडी भीम बहादुर कुमालले सोमबार पुरुषको ५० मिटर फ्रीस्टाइल एस नाइन क्याटगोरीमा आफ्नो चुनौती प्रस्तुत गर्ने छन् ।