बाढी–पहिरोले विभिन्न राजमार्ग प्रभावित, कुन सडकको अवस्था के छ ?

बाढी–पहिरोले विभिन्न राजमार्ग प्रभावित, कुन सडकको अवस्था के छ ?

मंगलवार, आश्विन २० २०८३
मंगलवार, आश्विन २० २०८३
  • बाढी–पहिरोले विभिन्न राजमार्ग प्रभावित, कुन सडकको अवस्था के छ ?

    काठमाडौं । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख सडक तथा राजमार्ग प्रभावित भएका छन् । नेपाल प्रहरीका अनुसार रसुवा, म्याग्दी, मनाङ र नवलपरासी पूर्वका सडकमा अहिले पनि आवागमन प्रभावित छ ।

    रसुवाको मुख्य राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरुद्ध छ । गत भदौ १० गते आएको बाढीपछि बन्द रहेको उक्त सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । प्रहरीले अर्को सूचना नभएसम्मका लागि सडक बन्द रहने जनाएको छ ।

    त्यस्तै, म्याग्दीको बेनी–जोमसोम सडकखण्डअन्तर्गत रघुगंगा गाउँपालिका–२ बैसरीमा असोज १० गते बिहान पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध छ । पहिरोका कारण उक्त सडकखण्डमा सवारी आवागमन ठप्प रहेको प्रहरीले जनाएको छ ।

    मनाङको खाङसार–बेंसीसहर सडकखण्ड पनि पूर्ण रूपमा बन्द छ । असोज ९ गते राति आएको बाढीले बेंसीसहर हुँदै खाङसार जाने सडक अवरुद्ध भएको हो । उक्त सडकमा पनि अझै आवागमन सञ्चालन हुन सकेको छैन ।

    यता, नवलपरासी पूर्वको कालीगण्डकी कोरिडोरअन्तर्गत बौदिकाली गाउँपालिका–३, जन्तीमा असोज १४ गते पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा छ । उक्त खण्डमा साना सवारीसाधन सञ्चालन भइरहे पनि ठूला सवारीसाधन भने चल्न नसकेको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार अवरुद्ध सडक खुलाउने तथा आवागमन सहज बनाउने प्रयास जारी छ । यात्रामा निस्कनुअघि सम्बन्धित सडकको पछिल्लो अवस्था बुझेर मात्रै यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij