काठमाडौं । आगामी वर्षमा अष्ट्रेलियाले २ लाख ७० हजार जना मात्रै विदेशी विद्यार्थी भित्र्याउने भएको छ । हरेक उच्च शैक्षिक संस्थाले भर्ना लिन सक्ने विद्यार्थीको सङ्ख्या तोकेर सो संख्यामा मात्रै विद्यार्थी भित्र्याइने अष्ट्रेलिया सरकारले मंगलबार बताएको हो ।
अध्यागमनलाई कोभिडको महामारी पूर्वको स्तरमा फर्काउने सरकारी कोसिस चलिरहँदा यो कदम चाल्न लागिएको हो ।
हरेक उच्च शैक्षिक संस्थाले भर्ना लिन सक्ने विद्यार्थीको सङ्ख्या तोकिएको मंगलबार सरकारले बताएको छ । सबैभन्दा धेरै कटौती व्यावसायिक शिक्षा तथा तालिम प्रदायककहाँ गरिएको छ ।
केही विश्वविद्यालयले यसलाई ‘आर्थिक तोडफोड’ भनेका छन् । तर सरकारले भने शैक्षिक क्षेत्रको गुणस्तर र दीर्घायु सुधार्न यो कदम चालिएको भनिरहेको छ । अस्ट्रेलियामा झन्डै ७ लाख १७ हजार ५०० विदेशी विद्यार्थी पढिरहेको सन् २०२४ को सुरुमा सार्वजनिक भएको पछिल्लो सरकारी तथ्याङ्कले देखाएको थियो ।
कोभिडको समयमा विदेशी विद्यार्थी नआउँदा उच्च शैक्षिक संस्था मारमा परेको शिक्षा मन्त्री जासोन क्लेयरले स्वीकार गरेका छन् । तर अहिले त्यहाँको विश्वविद्यालय र निजी व्यावसायिक तथा तालिम प्रदायक संस्थामा कोभिडअघिको भन्दा क्रमशः १० प्रतिशत र ५० प्रतिशत धेरै विद्यार्थी रहेको उनको भनाइ छ ।