काठमाडौं । भारतीय क्रिकेटर शिखर धवनले अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । उनले शनिबार बिहान सामाजिक सञ्जाल वेबसाइट एक्समा भिडिओ सन्देश पोस्ट गर्दै उक्त जानकारी दिएका हुन् ।
शिखर धवनले ३४ टेस्ट र १६७ ओडीआई खेलेका छन् ।
उनले एकदिवसीय खेलमा ६७९३ रन बनाएका छन् भने टेस्टमा ५८ इनिङ्समा २३१५ रन बनाएका छन् ।
शिखर धवनले भनेका छन्, ‘आज म यस्तो बिन्दुमा उभिएको छु जहाँबाट फर्केर हेर्दा सम्झना मात्रै देख्छु र अगाडि हेर्दा सारा संसार देख्न सक्छु । मसँग सधैँ भारतका लागि खेल्ने एउटै गन्तव्य थियो र त्यो भयाे पनि, जसका लागि म धेरै मानिसलाई धन्यवाद दिन्छु ।’
शिखर धवनले आफ्नो परिवार, बाल्यकालका प्रशिक्षक, भारतीय टोली, बीसीसीआई, डीडीसीए र फ्यानहरूलाई धन्यवाद दिएका छन् ।
उनले भनेका छन्, ‘मेरो क्रिकेट यात्रालाई अलबिदा गर्दै यस कुराले मेरो मनमा शान्ति छ कि मैले भारतबाट खेलेको छु ।’