काठमाडौं । बङ्गलादेशमा विद्यार्थीहरूको विरोध प्रदर्शनमा पुनः हिंसा भड्किएको छ । सरकारी जागिरमा आरक्षणको व्यवस्था हटाउनुपर्ने मागसहित विद्यार्थीहरूले प्रदर्शन गर्दा अहिलेसम्म २०० भन्दा बढीको मृत्यु भइसकेको छ ।
पाकिस्तानविरुद्ध स्वतन्त्रताको लडाइँ लडेकाका परिवारलाई सरकारी जागिरमा ३० प्रतिशत आरक्षणको व्यवस्थालाई सर्वोच्च अदालतले खारेज गरी ५ प्रतिशतमा सीमित गरिदिएपछि हिंसा केही मत्थर भएको थियो ।
विद्यार्थीहरू आन्दोलनको क्रममा घाइते र मृत्यु भएकाका परिवारलाई भेट्नमा व्यस्त थिए । त्यही क्रममा राजधानी ढाकासहितका शहरहरुमा फेरि हिंसा सुरु भएको हो ।
उत्तरपूर्वी सहर सिल्हटमा बुधवार प्रदर्शनकारीहरूले प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौं राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । बुधवार विद्यार्थीहरूले न्यायको लागि प्रदर्शनको आह्वान गरेका थिए । विद्यार्थीहरूको सामूहिक हत्या, आक्रमण, गिरफ्तारी र बेपत्ता पारिएको भन्दै विद्यार्थीहरू विरोधमा प्रदर्शन उत्रिएका छन् । विद्यार्थीहरूले ‘मार्च फर जस्टिस’ नामबाट प्रदर्शन जारी राखेका छन् ।