काठमाडौं । फ्रान्समा जारी ३३ औँ गृष्मकालीन ओलम्पिकमा सुटिङ र पौडीका नेपाली खेलाडी बाहिरिएका छन्। सुटिङकी सुस्मिता नेपाल र पौडीकी खेलाडी डुवाना लामा प्रारम्भिक चरणबाटै बाहिरिएका हुन्।
१० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी सुस्मिता ४३ खेलाडीमध्ये ४२औँ स्थानमा रहिन्। उनले ६०७.८ अंक जोडिन्। सो स्पर्धामा अल्जेरियाकी खेलाडीले भने प्रतिस्पर्धा नै गरिनन्।
प्रतिस्पर्धाबाट आठ खेलाडीले अन्तिम चरणमा स्थान बनाएका छन्। छनोट चरणमा कोरियाकी ह्योजिन बनले ६३४.५ अंक जोड्दै ओलम्पिक रेकर्ड राखेकी छिन्।
यस्तै पेरिस ओलम्पिकको पौडीमा नेपालकी डुवाना लामा हिट चरणबाटै बाहिरिएकी छिन्। महिला २०० मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गरेकी डुवानाले निर्धारित दूरी २ मिनेट २०.७४ सेकेण्डमा पूरा गरिन्। हिट १ मा प्रतिस्पर्धा गरेकी डुवाना आफ्नो हिटमा पुछारमा आइन्।
इसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ सेनेगलका खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका छन्।
ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल पनि समूहचरणको पहिलो खेलमै दोस्रो वरियताका डेनमार्कका भिक्टोर एक्सेलसनसँग पराजित भए। बाँकी दुई खेलमा पनि बलिया प्रतिद्धन्द्धि भएकाले प्रिन्सको यात्रा पनि कठिन हुने देखीएको छ।