काठमाडौं । अमेरिका र वेष्ट इन्डिजमा जारी टी–२० विश्वकपको सेमिफाइनल समिकरण पूरा भएको छ । मंगलबार सुपर ८ का सबै खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने दुवै समूहका शीर्ष २ वटा टोली छानिएका हुन् ।
समूह १ बाट तीन वटै खेल जितेर भारत समूह विजेता बन्दा अफगानिस्तान २ खेल जित्दै समूह उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ । त्यस्तै, समूह २ बाट सबै खेल जितेर दक्षिण अफ्रिका समूह विजेता बन्दा इङ्ग्ल्याण्ड २ खेलमा जित हाँसिल गरि समूहको उपविजेता बन्दै अन्तिम ४ मा पुग्याे ।
अब सेमिफाइनलमा समूह १ को विजेता भारतले समूह २ को उपविजेता इङ्ग्ल्याण्डसँग खेल्नेछ । त्यस्तै, समूह २ को विजेता दक्षिण अफ्रिकाले समूह १ को उपविजेता अफगानिस्तानको सामना गर्नेछ ।
पहिलो सेमिफाइनल खेल दक्षिण अफ्रिका र अफगानिस्तानबीच हुनेछ । उक्त खेल जुन २६ गते बुधवार ब्रायन लारा क्रिकेट एकेडेमी, तारुबामा हुनेछ । त्यस्तै, दोस्रो सेमिफाइनल खेल भारत र इङ्गल्याण्डबीच जुन २७ गते बिहीबार गुयाना नेशनल स्टेडियम, गुयानामा हुनेछ ।
समूह १ मा भारत ६ र अफगानिस्तान ४ अंकसहित खेलको अर्को चरणमा प्रवेश गरेका छन् । सोही समूहमा रहेका अष्ट्रेलिया र बंगलादेश भने सेमिफाइनल चरणमा प्रवेश गर्न सकेनन् । अष्ट्रेलियाले बंगलादेशलाई मात्र जित हाँसिल गरि २ अंक जोड्न सफल भएको थियो भने बंगलादेशले कुनै पनि खेल जित्न सकेन ।
सन् २०२१ मा विश्वकप जितेको अष्ट्रेलिया सुपर–८ चरणबाटै बाहिरिएको छ । त्यस्तै, बलियो प्रतिस्पर्धी मानिने बंगलादेश पनि सेमिफाइनल नपुग्दै बाहिरिएको छ ।
त्यस्तै, समूह २ मा दक्षिण अफ्रिका ६ र इङ्ग्ल्याण्ड ४ अंकसहित सेमिफाइनलमा प्रवेश गरेका छन् । सो समूहका वेष्ट इन्डिज २ अंक र अमेरिका एक अंक पनि जोड्न नसकि सुपर–८ चरणबाटै बाहिरिएका छन् । सन् २०१२ र २०१६ को विजेता वेष्ट इन्डिज सेमिफाइनल नपुग्दै बाहिरिएको छ । साथै, विश्व विजेता पाकिस्तानलाईसमेत हराएको अमेरिका पनि खेलको अर्को चरणमा पुग्न सकेन ।
एक–एक पटक टी–२० विश्वकप जितेका श्रीलङ्का र पाकिस्तान भने यसपटक सुपर–८ मा नै प्रवेश नगरि खेलबाट बाहिरिएका थिए । त्यस्तै, दुई पटकसम्म विश्वकपको फाइनलमा प्रवेश गरेको न्यूजिल्याण्ड पनि सुपर–८ प्रवेश गर्नु अगाडि नै खेलबाट बाहिरिएको थियो ।