अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

मंगलवार, आषाढ ११ २०८१
मंगलवार, आषाढ ११ २०८१
  • अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

    काठमाडौँ ।अफगानिस्तान पहिलो पटक  टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अफगानिस्तान बिजयी भएसंगै उपाधि दावेदार अस्ट्रेलिया विश्वकपबाट बाहिरिएको छ । कप्तान रासिद खानको कीर्तिमानी बलिङको मद्दतले अफगानिस्तान बंगलादेशलाई ८ रनले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो । 

    १९ ओभरमा १ सय १४ रनको लक्ष्य पाएको बंगलादेशले १७.५ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रन मात्र बनाउन सक्यो । अफगानिस्तानको जितसँगै पूर्वविजेता अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ । अफगानिस्तानले अब सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्नेछ । अर्को सेमिफाइनलमा भारत र इंग्ल्यान्ड भिड्ने छन् ।

    बंगलादेशका लागि ओपनर लिट्टन दासले सर्वाधिक ५४ रन बनाए । उनले नटआउट रहँदै ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरे । त्यस्तै तोहिद हृदोयले ९ बलमा १४ रन जोडे । त्यस्तै, सौम्य सरकारले १० बलमा १० रनको योगदान दिए ।

    कप्तान रासिद खानले घातक बलिङ गर्दै ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । आज चार विकेट लिएसंगै उनी टी–२० अन्तर्राष्ट्रियमा सबैभन्दा चाँडो १ सय ५० विकेट लिने खेलाडी पनि बने । उनले न्युजिल्यान्डका टीम साउथीको कीर्तिमान तोडेका हुन् । नविन उल हकले पनि ३.५ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए ।


    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रन बनाएको थियो । अफगानिस्तानका लागि ओपनर रहमनुल्लाह गुरबाजले सर्वाधिक ४३ रनको योगदान दिए । उनले ५५ बलमा ३ चौका र १ छक्का हिर्काए । कप्तान रासिद खानले १० बलमा १९ रन जोडे । उनले ३ छक्का प्रहार गरे ।

    त्यस्तै, इब्राहिम जादरानले २९ बलमा १८ रन तथा अज्मतुल्लाह ओमरजाईले १२ बलमा १० रन बनाए । कसिलो बलिङ गरेको बंगलादेशका लागि रिसाद होसेनले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए । त्यसैगरी तास्किन अहमद र मुस्तफिजुर रहमानले १–१ विकेट लिए ।






    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij