काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलदेश बिरुद्ध जित हातपार्दै भारत सेमिफाइनल नजिक पुुगेको छ । लगातार छैठो जित निकाल्दै भारत अन्तिम चार नजिक पुुगेको हो । शनिबार राति सम्पन्न ‘सुपर–८’ चरणको खेलमा भारतले बंगलादेशलाई ५० रनले हरायो ।
जारी विश्वकपमा भारत हालसम्म अपराजित छ । लगातार दोस्रो हारसँगै बंगलादेशको सेमिफाइनलमा पुग्ने सम्भावना भने कमजोर बनेको छ । भारत र बंगलादेश ‘सुपर–८’ चरणको ‘समूह–१’ मा छन् । दुई खेलबाट चार अंक बटुलेको भारत तालिकाको पहिलो स्थानमा उक्लिएको छ ।
एक खेलबाट दुई अंक जोडेको पूर्वविजेता अस्ट्रेलिया तालिकाको दोस्रो स्थानमा छ । एक खेल खेलेको अफगानिस्तान शून्य अंकसहित तालिकाको तेस्रो स्थानमा छ । दुई खेल खेलेको बंगलादेशले पनि हालसम्म अंक बटुल्न सकेको छैन । टी–२० विश्वकपको पहिलो संस्करणको विजेता भारतले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई ४७ रनले हराएको थियो ।
बंगलादेशी टोली भने आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा २८ रनले पराजित भएको थियो । शनिबार रातिको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय ४६ रनमात्र बनायो । भारतको जितमा हार्दिक पाण्ड्याले अर्धशतकीय योगदान गरे । उनले २७ बलमा तीन छक्का र चार चौकासहित अविजित ५० रन बनाए । ओपनर विराट कोहलीले २८ बलमा तीन छक्का र एक चौकासहित ३७ रन बनाए ।
कप्तान रोहित शर्माले ११ बलमा एक छक्का र तीन चौकासहित २३ रन बनाए । ऋषभ पन्तले २४ बलमा दुई छक्का र चार चौकासहित ३६ रन बनाउँदै उत्कृष्ठ शुरुवात दिलाएका थिए । त्यसैगरी शिवम् दुबेले २४ बलमा तीन छक्कासहित ३४ रन बनाए ।
बंगलादेशका बलर तान्जिम हसन सकिबले र रिसाद होसैनले समान दुई विकेट हात पारे । सकिब अह हसनको नाममा एक विकेट रहयो । ठुलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशका लागि कप्तान नजमुल होसैन सान्तोले ३२ बलमा तीन छक्का र एक चौकासहित सर्वाधिक ४० रन बनाए ।
ओपनर तानजिद हसनले २९ रन जोडे । रिसाद होसैनले १० बलमा तीन छक्का र एक चौकाको मद्दतले २४ रन बनाए । महमुदुल्लाहले पनि टोलीको खातामा १३ रन थपे । अर्का ओपनर ब्याट्सम्यान लिटन दास भने १३ रन बनाउँदै आउट भएका थिए । सकिब अल हसन पनि ११ रनभन्दा अगाडि बढ्न सकेनन् ।
भारतीय टोलीका बलर कुलदीप यादबले चार ओभरमा १९ रन खर्चिएर तीन विकेट लिए । जसप्रित बुमराह र अर्शदीप सिंहले सिमान दुई विकेट लिए । हार्दिक पाण्ड्याले पनि एक विकेट हात पारे ।