काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह १ को पहिलो खेलमा भारत विजयी भएको छ। बिहीबार राति भएको खेलमा अफगानिस्ता ४७ रनले पराजित भएको हो।
भारतले प्रस्तुत गरेको १ सय ८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तान २० ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रनमा समेटिएको हो।
अफगानिस्तानका लागि अजमतुल्लाह ओमरजाईले सर्वाधिक २६ रन बनाए ।नजिबुल्लाह जादरानले १९ रन, गुलबदिन नाइबले १७ रन, मोहम्मद नाबीले १४ रन तथा रहमनुल्लाह गुरबाजले ११ रन जाडेका थिए ।
भारतका लागि जसप्रित बुमराहले ४ ओभर बलिङ गर्दै १ मेडेन राखेर मात्र ७ रन खर्चँदै ३ विकेट लिए । अर्शदीप सिंहले पनि ३ विकेट हासिल गरे । कुल्दीप यादवले २ तथा रवीन्द्र जडेजाले १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो । खेलमा भारतको सुरुवात भने राम्रो हुन सकेन । तेस्रो ओभरमा नै कप्तान रोहित शर्मा ८ रन बनाएर आउट भए ।
त्यसपछि ऋषभ पन्त र विराट कोहलीले २५ बलमा ४३ रनको साझेदारी गर्दै स्कोर अगाडि बढाए । कोहलीले २४ बलमा २४ रन बनाए भने पन्तले ११ बलमा ४ चौका हिर्काउँदै २० रन जोडे ।
सूर्यकुमार यादवले विस्फोटक ब्याटिङको नमुना प्रस्तुत गर्दै २८ बलमा ५३ रन जोडे । उनले ५ चौका र ३ छक्का प्रहार गरे । यादवले हार्दिक पाण्ड्यासँग मिलेर ३७ बलमा ६० रन जोडे । हार्दिकले २४ बलमा ३२ रनको योगदान दिए । उनले ३ चौका र २ छक्का हिर्काए ।
अक्षर पटेलले १२ रन बनाए भने शिवम दुवेले ७ बलमा १० रन जोडे ।अफगानिस्तानका लागि फजलहल फारुकी र रासिद खानले ३–३ विकेट लिए ।
सुपर ८ को पहिलो खेलमा भारतले अपराजित यात्रा कायमै राखेको हो। यो समूहमा अस्ट्रेलिया र बंगलादेश पनि रहेका छन् ।