२९ हप्तामा जन्मेको शिशुको आँखा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल

२९ हप्तामा जन्मेको शिशुको आँखा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल

शुक्रवार, माघ १२ २०८०
शुक्रवार, माघ १२ २०८०
  • २९ हप्तामा जन्मेको शिशुको आँखा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ सफल
    काठमाडौँ ।  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ एलएसभी पद्धतिबाट गरिएको जटिल प्रकारको आँखाको शल्यक्रिया सफल भएको छ ।  सो अस्पतालमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो । यस्ता जटिल शल्यक्रिया नेपालमा विरलै हुने बताइएको छ । 
     
     आँखा उपचारको केन्द्रीय सो अस्पतालमा २९ हप्तामा जन्मिएको नवजात शिशुको बायाँ आँखाको ‘एलएसभी’ शल्यक्रिया गरिएको हो । काठमाडौँ उपत्यकाभित्रकै एक अस्पतालबाट ‘रेफर’ भई आएका ती  शिशुको आँखाको गत पुस १० मा शल्यक्रिया गरिएको थियो । सो जटिल शल्यक्रियामा नेतृत्व गरेकी चिकित्सक प्रिया बजगाईंका अनुसार, २९ हप्तामा जन्मेको शिशुको एलएसभी पद्धतिमार्फत शल्यक्रिया गरिएको नेपाल आँखा अस्पतालमा पहिलोपटक हो ।
     
    बुधबार फलोअप उपचारका लागि शिशुलाई  अस्पतालमा ल्याइएको थियो । शिशुको दुवै आँखामा सुधार हुँदै गएको र वृद्धिविकास हुँदै जाँदा समस्या न्यून हुँदै गएको बजगाईको भनाई छ । उनकै नेतृत्वमा ती शिशुको दायाँ आँखाको आरओपी समस्याको लेजर प्रविधिमार्फत उपचार गरिएको थियो । शिशुको दायाँ आँखाको लेजर प्रविधिबाट उपचार सफल भएपछि त्यसको २० दिनपछि मात्र बायाँ आँखाको जटिल शल्यक्रिया एलएसभी गरिएको हो ।  
     
    नवजात शिशुको ‘रेटिनोप्याथी अफ प्रि मेच्योरिटी’ आरओपीका कारण आँखामा रगत जमेर पर्दा तानिएको एवं आँखामा रगत जाने नसाको अविकसित अवस्थामा एलएसभी गरिन्छ ।  विगतमा यस्तो आँखाको उपचार गर्न भारत जानुपर्ने अवस्था रहेको थियो । सो शल्यक्रियामा बजगाईसहित पेडाएट्रिक एनेस्थेशियोलोजिस्ट शान्ता सापकोटा सहभागी थिइन ।
     
    सो एलएसभी शल्यक्रिया गर्न करिब एक घण्टाभन्दा बढी समय लागेको थियो । यस्ता शल्यक्रिया सफल अथवा असफल हुन पनि सक्ने भएपनि आफुले ती शिशुको आँखाको ज्योती जोगाउन अन्तिम पर्यत्न गरेको बजगाईको भनाई छ । शिशुको जन्म हुँदा उनको तौल एक किलो दुई सय ग्राम मात्र रहेको थियो। जन्मिएपछि २८ दिनसम्म शिशुको एनआइसियूमा उपचार भएको थियो । जन्मेको ३४ दिनपछि आइसियूमा रहेकै अवस्थामा शिशुको आँखा उपचार गर्न आँखा अस्पताल ल्याइएको थियो ।
     
    आँखा रोग विशेषज्ञका अनुसार आँखाको रक्त नसा विकसित नभएको अवस्था अर्थात् ‘आरओपी’ पाँच चरणका हुने गर्दछ । पहिलोदेखि दोस्रोसम्म क्रमशः शिशुको वृद्धिविकाससँगै नसाको पनि वृद्धिविकास हुँदै जाने गर्दछ्र तेस्रो र चौथो चरणमा पुग्दा लेजर वा इन्जेक्सन तथा अन्तिम चरणमा शल्यक्रियामार्फत उपचार गर्नुपर्ने हुन्छ ।  
     
    चिकित्सक बजगाईंका अनुसार, कम तौल, गर्भावस्था ३४ हप्ताभन्दा कम, जन्मँदा अक्सिजनको उतारचढावका कारण अक्सिजन थेरापी दिइएको, शारीरिक, जन्डिस, पेटको समस्याले ती शिशुको दुवै आँखामा समस्या देखिएको हो । गर्भावस्था ३४ हप्ता कम अथवा दुई किलोभन्दा कम वजन जन्मेका शिशुमा आरओपीका कारण अन्धोपन हुने जोखिम हुने बजगाई बताउँछिन् । 
     
    अस्पतालका मेडिकल रेकर्ड अनुसार अस्पतालले गत वर्ष सेवा पु¥याएका एक लाख ५७ हजार बिरामीमध्ये ३४ हप्ता मुनिका तीन सय शिशु रहेका थिए  । तीमध्ये ३६ शिशुको ‘लेजर अभास्टिन इञ्जेक्सन’मार्फत आँखाको उपचार गरिएको थियो । यस प्रकारको उपचार सेवाका लागि पनि  सर्वोत्कृष्ट मानिन्छ ।  
     
     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij