काठमाडौं । हिमालयन उद्धार सङ्घले छ वर्षमा पदयात्रामा जाने ६ हजार २ सय ७२ नेपालीको निःशुल्क उपचार गरेको छ । विगत ५० वर्षदेखि पर्वतीय पदयात्रामा जाने आन्तरिक तथा बाह्य पदयात्रीको उपचारमा सक्रिय सङ्घले सगरमाथा, मनाङ र गोसाइँकुण्ड क्षेत्रमा जानेह नेपालीको निःशुल्क उपचार गरेको हो ।
सङ्घले सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गरी नेपाली पदयात्रीलाई निःशुल्क र विदेशी पदयात्रीलाई थोरै शुल्क लिएर स्वास्थ्यसेवा प्रदान गर्दै आइरहेको सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द बस्यालले जानकारी दिए ।
त्यस्तै, सो सङ्घले जनैपूर्णिमा मेलाका अवसरमा रसुवाको गोसाइँकुण्डमासमेत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । सङ्घले सन् २०१९ मा १ हजार ५ सय ८४ जना, सन् २०२० मा ९९ जना, सन् २०२१ मा सात सय ८५ जना, सन् २०२२ मा १ हजार ३ सय ८५ जना, सन् २०२३ मा १ हजार ९ सय ६९ जना र सन् २०२४ को हालसम्म ४ सय ५० नेपाली पदयात्रीलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गरेको छ ।
सङ्घले छ वर्षमा २ हजार ५ सय ७४ विदेशी पर्वतीय पदयात्रीलाईसमेत स्वास्थ्यसेवा प्रदान गरेको छ । सन् २०१९ मा १ हजार १ सय १६ जना, सन् २०२० मा १६ जना, सन् २०२१ मा १ सय ५१ जना, सन् २०२२ मा ५०५ जना, सन् २०२३ मा ६ सय ३५ जना र सन् २०२४ को हालसम्म १ सय ५१ विदेशी पदयात्रीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ ।
वसन्त ऋतुको आगमनसँगै सङ्घले गत चैतदेखि आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ ।
वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विस २०३० मा स्थापना भएको सङ्घले चैतमा वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र दुई नेपाली चिकित्सकलाई सोलुखुम्बु र मनाङको तीन स्थानमा पठाएको हो ।
हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी आधार क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउन तालिम दिएर स्वयंसेवी चिकित्सक परिचालन गरिएको सङ्घका अध्यक्ष डम्बर पराजुलीले बताए । सगरमाथा आधार शिविरमा एक विदेशी र दुई नेपाली चिकित्सक तथा फेरिचे र मनाङ गाउँमा दुई÷दुई विदेशी चिकित्सकले स्वास्थ्यसेवा प्रदान गर्दै आएका छन् ।
मनाङ स्वास्थ्य चौकीमा अष्ट्रेलियाका डा प्याट्रिक जुलियन टिम्स र डा थोमस रोस म्याकफार्लेन, फेरिचे स्वास्थ्य चौकीमा अष्ट्रेलियाका डा क्याथरिन अन्ना ग्रेला र अमेरिकी चिकित्सक डा ब्रायन मिचेल स्ट्रिकल्यान्ड तथा सगरमाथा आधार शिविरमा अमेरिकी चिकित्सक डा ग्रेगरी ह्यू स्टिलर र नेपाली चिकित्सकद्वय डा निशान्त जोशी र डा श्रेयसी कार्कीको टोली खटिएको छ ।
सङ्घका अध्यक्ष पराजुलीले कार्यक्षेत्रमा खटिएका स्वयंसेवक चिकित्सकलाई लेक लाग्ने, अन्य उपचारलगायत पर्वतीय क्षेत्रमा आइपर्ने स्वास्थ्य समस्याबारे विस्तृत तालिम प्रदान गरेर कार्यक्षेत्रमा पठाइएको बताए । सङ्घले नेपाल मेडिकल काउन्सिलबाट स्वीकृत लिएका चिकित्सकलाई मात्र कार्यक्षेत्रमा खटाउने गरेको अध्यक्ष पराजुलीको भनाइ छ ।
सो सङ्घले सन् २००३ देखि सगरमाथा आधार शिविरमा स्वास्थ्य शिविर स्थापना गरी आरोही र आरोहणमा सहयोग गर्ने कर्मचारीका साथै अन्य पदयात्रीलाई सेवा दिँदै आएको छ । फेरिचेमा सन् १७७३, मनाङ गाउँमा सन् १९८० र गोसाइँकुण्डमा सन् १९९७ देखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।