अत्तरिया । कैलालीको धनगढी उपमहानगरपालिकाले २३ करोड ४० लाख ९३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०८०/८१ को साउनदेखि चैत मसान्तसम्म सो राजस्व सङ्कलन गरेको हो ।
सम्पत्ति करबाट २ करोड ९१ लाख ५० हजार, भूमि कर ८२ लाख ८५ हजार रुपैयाँ, बहाल कर ५ करोड ३७ लाख ८८ हजार रुपैयाँ, बहाल विरौटी कर ११ लाख ८७ हजार रुपैयाँ, सवारीसाधन कर ४ लाख ३२ हजार रुपैयाँ र अन्य करबाट ४ लाख ७८ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उपमहानगरपालिकाका राजस्व शाखा प्रमुख लेखनाथ ओझाले जानकारी दिए ।
उनका अनुसार सरकारी सम्पत्ति बहालबाट प्राप्त आय ६८ लाख ५ हजार रुपैयाँ, अन्य सेवा शुल्कबाट २४ लाख ७९ हजार रुपैयाँ, शिक्षा क्षेत्रको आम्दानी १३ लाख ४४ हजार रुपैयाँ, पार्किङ शुल्कबाट ५२ लाख ९७ हजार रुपैयाँ, नक्सा पास दस्तुरबाट २ करोड २७ लाख ७७ हजार रुपैयाँ, सिफारिस दस्तुरबाट १ करोड ३२ लाख २७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
त्यस्तै व्यक्तिगत घटना दर्ता दस्तुर १० लाख ७ हजार रुपैयाँ, नाता प्रमाणित दस्तुर ३ लाख ६१ हजार रुपैयाँ, अन्य दस्तुरबाट ७ लाख ५६ हजार, प्रशासनिक दण्ड जरिवानाबाट ४४ लाख ११ हजार रुपैयाँ, व्यवसायबाट ३ करोड १७ लाख २६ हजार रुपैयाँ, अन्य राजस्व ४ करोड ९९ लाख ५२ हजार रुपैयाँ, बेरुजुबापत ५ लाख ८६ हजार रुपैयाँ, सामुदायिक वनबाट प्राप्त आय ३२ हजार रुपैयाँ र विज्ञापन करबाट ५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनले जानकारी दिए।
करको दायरा बढ्दै जाँदा राजस्व सङ्कलनमा वृद्धि हुँदै गएको शाखा प्रमुख ओझाको भनाइ छ । उनले भने, “प्रत्येक वर्ष करको दायरा बढ्दै जान्छ, आगामी आवमा पनि करको दायरा बढ्छ, तर करको दर भने यथावत रहन्छ ।” गत आथिृक बर्ष २०७९/८० मा उपमहानगरपालिकाले कूल २७ करोड ९२ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाइएको छ ।