काठमाडौं । चालू आर्थिक वर्षको साढे १० महिनामा ललितपुर महानगरपालिकाले ५७ प्रतिशत मात्रै बजेट खर्च गर्न सक्षम भएको छ । वैशाख २० गतेसम्म आइपुग्दा महानगरले ३ अर्ब ७२ करोड ७५ लाख ९३ हजार रुपैयाँ बजेट खर्च गरेको हो ।
महानगरले आर्थिक वर्ष २०८०/८१ का लागि ६ अर्ब ५० करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । हाल सम्म भएको खर्च उक्त विनियोजित बजेटको ५७ प्रतिशत मात्रै हो ।
यस आर्थिक वर्षका लागि महानगरले २ अर्ब ४९ करोड ८४ लाख ४२ हजार रुपैयाँ चालु खर्चका लागि छुट्याएको थियो । हालसम्म सो विषयमा १ अर्ब ७२ करोड ८८ लाख ४२ हजार रुपैयाँ खर्च भएको छ । जुन सो शिर्षकमा छुट्याइएको बजेटको ६९ प्रतिशत हो ।
त्यस्तै, महानगरले हालसम्म ५० प्रतिशत पूँजीगत खर्च गरेको छ । विकास निर्माणका लागि ४ अर्ब २१ लाख ४६ हजार रुपैयाँ विनियोजन गरेको महानगरले हालसम्म १ अर्ब ९९ करोड ८७ लाख ५१ हजार रुपैयाँमात्रै खर्चिन सक्ष भएको हो ।
सो अवधिसम्म महानगरले लक्ष्यको ७०.३३ प्रतिशत राजस् संकलन गरेको छ । यस आवमा २ अर्ब ४० करोड २० लाख रुपैयाँ आन्तरिक आय संकलनको अनुमान थियो । २० वैशाखसम्म १ अर्ब ६८ करोड ९२ लाख रुपैयाँ संकलन भएको महानगरले जनाएको छ ।