भक्तपुर । लगातार वर्षा हुन थालेपछि भक्तपुरका नदी आसपासका क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । बाढीको जोखिम बढेसँगै मनोहरा, हनुमन्तेलगायत नदी आसपासका क्षेत्रमा सुरक्षाकर्मीले माइकिङ गरेर स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरेका हुन् ।
जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मुलुकका अधिकांश भागमा चार दिनसम्म भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेको छ । सोहीअनुसार बुधबार रातिदेखि काठमाडौं उपत्यकामा लगातार वर्षा भइरहेको छ ।
सम्भावित बाढी, पहिरो तथा डुबानबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय भक्तपुरले स्थानीय तह, रेडक्रस, सडक विभाग, अस्पताललगायत सरोकारवाला निकायसँग बैठकसमेत गरेको छ । प्रमुख जिल्ला अधिकारी विनोद खड्काका अनुसार बाढी तथा पहिरोको जोखिममा रहेका स्थानका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै माइकिङ गरिएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै खुला स्थानको पहिचान तथा उद्धार सामग्रीको व्यवस्थापनसमेत गरिएको उनले बताए ।
सशस्त्र प्रहरी बल नेपाल, २२ नं. गण हेडक्वार्टर गुहेश्वरी, भक्तपुरमार्फत नदी आसपासका क्षेत्रमा माइकिङ गरिएको सशस्त्र प्रहरी उपरीक्षक बासुदेव महतले जानकारी दिए । सूर्यविनायक नगरपालिकाले पनि नदी आसपासका क्षेत्रमा माइकिङ गर्दै स्थानीयलाई सुरक्षित रूपमा बस्न र जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ ।
नगरपालिकाले यसअघि नै सार्वजनिक सूचना जारी गरी वर्षाका कारण हुनसक्ने जोखिमबाट जोगिन सतर्कता अपनाउन स्थानीयलाई आग्रह गरिसकेको प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले बताए ।