२५ वर्षमै ६० अर्ब डलरको कारोबार, भारतीय मूलका अमानको कम्पनी किने इलन मस्कले

२५ वर्षमै ६० अर्ब डलरको कारोबार, भारतीय मूलका अमानको कम्पनी किने इलन मस्कले

आइतवार, भाद्र २८ २०८३
आइतवार, भाद्र २८ २०८३
  • २५ वर्षमै ६० अर्ब डलरको कारोबार, भारतीय मूलका अमानको कम्पनी किने इलन मस्कले

    २५ वर्षको उमेरमै भारतीय मूलका अमान साङ्गरले स्थापना गरेको कम्पनी ६० अर्ब अमेरिकी डलरमा इलन मस्कको कम्पनीले किनेको छ । अमान सहसंस्थापक रहेको कृत्रिम बुद्धिमत्ता अर्थात एआईमा आधारित कम्पनी ‘एन्स्फियर’लाई मस्कको ‘स्पेसएक्स’ले खरिद गरेको हो ।

    भारतीय सञ्चारमाध्यमका अनुसार अमान अमेरिकी नागरिक भए पनि उनका अभिभावक भारतीय मूलका हुन् । उनले १४ बर्षको उमेरदेखि कम्प्युटर प्रविधिमा रुचि राख्दै आएका थिए । 

    अमानले अमेरिकाको प्रतिष्ठित म्यासाचु सेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीमा कम्प्युटर विज्ञान अध्ययन गरेका थिए । अध्ययनकै क्रममा उनले कृत्रिम बुद्धिमत्तासँग सम्बन्धित विभिन्न प्रयोग थाले । यही क्रममा आफ्ना सहकर्मीहरूसँग मिलेर एन्स्फियर स्थापना गरेका थिए ।

    एन्स्फियरले विकास गरेको ‘कर्सर’ नामक प्रविधि अहिले कम्प्युटर कार्यक्रम बनाउने क्षेत्रमा निकै चर्चित बनेको छ । यसले कृत्रिम बुद्धिमत्ताको प्रयोग गरी कम्प्युटर कार्यक्रम लेख्न, त्रुटि सच्याउन, नयाँ कार्यक्रम बनाउन तथा डोभलपरलाई विभिन्न काममा सहयोग गर्छ ।

    टाइम्स अफ इन्डियाका अनुसार अमानको कम्पनी तीव्र गतिमा विस्तार भएपछि विश्वका ठूला प्रविधि कम्पनीको ध्यान तानेको थियो । मस्कको स्पेसएक्सले अन्ततः एन्स्फियरलाई ६० अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको हो । सञ्चारमाध्यमले यसलाई प्रविधि क्षेत्रमा भएको सबैभन्दा ठूलो कारोबारमध्ये एकका रूपमा उल्लेख गरेका छन् ।

    इन्डिया टुडेले अमानलाई भारतीय मूलका २५ वर्षीय प्रविधि उद्यमीका रूपमा प्रस्तुत गरेको छ । उसका अनुसार यो कारोबारपछि अमान र उनका सहसंस्थापकहरूको व्यक्तिगत सम्पत्ति अर्बौं डलर पुग्ने अवस्था बनेको छ । 

    इकोनोमिक टाइम्सले पनि अमानलाई यो ठूलो कारोबारको केन्द्रमा रहेका भारतीय मूलका युवा उद्यमीका रूपमा उल्लेख गरेको छ । उक्त सञ्चारमाध्यमका अनुसार एन्स्फियरको मुख्य उत्पादन कर्सरको तीव्र विस्तारले कम्पनीको मूल्य निकै माथि पु¥याएको थियो ।

    मस्कका लागि भने यो कारोबार एउटा कम्पनी खरिद गर्ने विषयमा मात्र सीमित छैन । यसबाट कृत्रिम बुद्धिमत्ता एआईको क्षेत्रमा उनको प्रभाव अझ विस्तार हुने देखिएको छ । अन्तरिक्ष प्रविधिदेखि विद्युतीय सवारी, सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्तासम्म लगानी विस्तार गरिरहेका मस्कले कर्सरलाई आफ्नो प्रविधि समूहमा समेटेका हुन् ।

    भारतीय सञ्चारमाध्यमले अमानको सफलतालाई उनको भारतीय पारिवारिक पृष्ठभूमिसँग जोडेर विशेष महत्व दिएका छन् । टाइम्स अफ इन्डियाले अमानका अभिभावक भारतीय आप्रवासी रहेको उल्लेख गर्दै उनको १४ वर्षको उमेरदेखि सुरु भएको कम्प्युटर प्रविधिको यात्रालाई ६० अर्ब डलरको कारोबारसम्म आइपुगेको सफलतासँग जोडेको छ ।

    चार जना युवा मिलेर सुरु गरेको एउटा सानो प्रयास कसरी केही वर्षमै विश्वकै चर्चित प्रविधि कम्पनीमध्ये एक बन्न पुग्यो भन्ने कथा पनि कर्सरसँग जोडिएको छ । सुरुआती योजना सफल नभएपछि उनीहरूले आफ्नो कामको दिशा परिवर्तन गरेका थिए । त्यही परिवर्तनबाट कर्सरको विकास भएको टाइम्स अफ इन्डियाले जनाएको छ ।

    यसरी २५ वर्षको उमेरमै अमान साङ्गरको नाम विश्वकै ठूलो प्रविधि कारोबारसँग जोडिएको छ । भारतीय मूलका एक युवाको यो सफलता अहिले भारतका सञ्चारमाध्यममा मात्र होइन, विश्व प्रविधि क्षेत्रमा समेत चर्चाको विषय बनेको छ । एजेन्सीको सहयोगमा

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij