‘उद्धार र राहतमा कुनै कमी हुन नदिन सबै संयन्त्र परिचालन गर्छौं’ - मुख्यमन्त्री थापा

‘उद्धार र राहतमा कुनै कमी हुन नदिन सबै संयन्त्र परिचालन गर्छौं’ - मुख्यमन्त्री थापा

मंगलवार, भाद्र १६ २०८३
मंगलवार, भाद्र १६ २०८३
  • ‘उद्धार र राहतमा कुनै कमी हुन नदिन सबै संयन्त्र परिचालन गर्छौं’ - मुख्यमन्त्री थापा

    रसुवा, १५ भदौ । रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहका सबै संयन्त्र परिचालन गर्ने निर्णय गरिएको छ ।

    बाढीपछिको अवस्थाबारे छलफल गर्न बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाको प्रमुख आतिथ्यता तथा रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको अध्यक्षतामा सर्वपक्षीय बैठक बसेको हो । बैठकले प्रभावित नागरिकको तत्काल उद्धार, सुरक्षित स्थानान्तरण, राहत वितरण तथा क्षतिग्रस्त पूर्वाधारको पुनःनिर्माणलाई प्राथमिकतामा राखेर विभिन्न निर्णय गरेको छ । बैठकमा मुख्यमन्त्री थापाले रसुवामा बाढीबाट भएको क्षति अकल्पनीय रहेको बताउँदै उद्धार र राहतका कामलाई प्रभावकारी बनाउन राज्यका सबै संयन्त्र परिचालन गरिएको जानकारी दिए । 

    उनले अहिलेको मुख्य प्राथमिकता बाढी प्रभावित नागरिकको उद्धार तथा व्यवस्थापन भएको भन्दै आवश्यक जनशक्ति, उपकरण, खाद्यान्न, औषधि तथा अन्य अत्यावश्यक सामग्रीको अभाव हुन नदिन सम्बन्धित निकायलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिए । बाढीका कारण अवरुद्ध सडक तथा यातायात तत्काल सञ्चालनमा ल्याउने, प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक राहत सामग्री पुर्याउने र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयलाई बैठकले विशेष प्राथमिकता दिएको छ ।


    बैठकले बाढीबाट क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधारको तत्काल मर्मतसम्भार गरी यातायात सञ्चालनमा ल्याउने निर्णय गरेको छ । साथै, संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्दै उद्धार तथा राहतका लागि आवश्यक स्रोत–साधन परिचालन गर्ने निर्णय गरिएको छ । राहत वितरणलाई व्यवस्थित बनाउन संघीय सरकार मातहतका कार्यालयबाट प्राप्त राहत सामग्री संकलन गर्ने र प्रदेश सरकारमार्फत आवश्यक सामग्रीको व्यवस्थापन गरी स्थानीय तहसँगको समन्वयमा वडास्तरसम्म राहत पुर्याउने व्यवस्था मिलाउने निर्णय भएको छ ।

    त्यस्तै, बाढीका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन तथा पहिचानका लागि सुरक्षा निकाय र सम्बन्धित स्थानीय तहलाई परिचालन गर्ने निर्णय गरिएको छ । शव व्यवस्थापनका लागि आवश्यक स्थान तथा अन्य व्यवस्थापनको जिम्मेवारी स्थानीय तहले लिने बैठकले तय गरेको छ । बाढीबाट क्षतिग्रस्त सडक तथा पुलको तत्कालीन मर्मतसँगै दीर्घकालीन पुनःनिर्माणका लागि सम्बन्धित निकायले प्राथमिकताका साथ काम अघि बढाउने निर्णय पनि बैठकले गरेको छ। जोखिमयुक्त क्षेत्रमा थप क्षति हुन नदिन आवश्यक सावधानी अपनाउने र सम्भावित जोखिमलाई न्यूनीकरण गर्ने विषयमा समेत बैठकले जोड दिएको छ ।

    बैठकमा प्रतिनिधिसभा सदस्य मोहन आचार्य, बब्लु गुप्ता, बागमती प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री एवं प्रदेशसभा सदस्य प्रभात तामाङ, प्रदेशसभा सदस्य इन्द्रप्रसाद गोतामे, जिल्ला समन्वय समिति रसुवाका प्रमुख अशोक पौडेल, गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङ, उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याल, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, नौकुण्ड गाउँपालिकाकी उपाध्यक्ष चन्द्रबहादुर गलान, प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार, कालिका गाउँपालिकाका वडाध्यक्ष सन्दीप पौडेल, पूर्वाधार विकास कार्यालय रसुवाका प्रमुख रविन महर्जनलगायत सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको सहभागिता थियो ।

    WhatsApp Image 2026-09-01 at 11.02.03.jpeg

    बैठकले तत्काल उद्धार र राहतलाई प्राथमिकता दिँदै प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै बाढीले क्षति पुर्याएका सडक, पुल तथा अन्य पूर्वाधारको पुनःस्थापनालाई समेत समन्वयात्मक रूपमा अघि बढाउने निष्कर्ष निकालेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij