काठमाडौं । विश्वकप फुटबलको राउन्ड अफ ३२ का सबै खेल सम्पन्न भएसँगै अन्तिम १६ को समीकरण पूरा भएको छ । अब क्वार्टरफाइनल प्रवेशका लागि विश्व फुटबलका १६ टोलीबीच नकआउट चरणमा प्रतिस्पर्धा हुनेछ ।
राउन्ड अफ ३२ का खेलमा केही अपेक्षित र केही अप्रत्याशित नतिजा देखिए । क्यानडाले दक्षिण अफ्रिकालाई इन्जुरी समयमा गरेको निर्णायक गोलको मद्दतमा पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गर्ने पहिलो टोली बन्यो ।
यस्तै, ब्राजिलले जापानलाई हराउँदै सहज रूपमा अर्को चरणमा प्रवेश गर्दा पराग्वेले जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै प्रतियोगिताकै सबैभन्दा ठूलो उलटफेरमध्ये एक नतिजा निकाल्यो । मोरक्कोले नेदरल्याण्ड्सलाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै अन्तिम १६ मा स्थान बनायो भने नर्वेले खेलको अन्तिम मिनेटमा गरेको गोलको मद्दतमा आइभोरी कोस्टलाई पराजित गर्यो ।
फ्रान्सले स्विडेनमाथि ३–० को सहज जित निकाल्दा मेक्सिकोले इक्वेडरलाई २–० ले हराउँदै अघिल्लो चरणमा स्थान सुरक्षित गर्यो । इंग्ल्याण्डले ह्यारी केनको अन्तिम समयमा गरेका दुई गोलको मद्दतमा प्रजातान्त्रिक गणतन्त्र कङ्गोलाई २–१ ले पराजित गर्यो ।
बेल्जियमले उत्कृष्ट पुनरागमन गर्दै २–० ले पछि परेको अवस्था उल्टाएर सेनेगललाई थप गरिएको समयमा ३–२ ले पराजित गर्यो । दोस्रो हाफमा १० खेलाडीमा सीमित भए पनि अमेरिकाले बोस्निया र हर्जगोभिनालाई २–० ले हराउँदै अन्तिम १६ मा स्थान बनायो ।
स्पेनले मिकेल ओयार्जाबलको दुई गोलको मद्दतमा अस्ट्रियामाथि ३–० को सहज जित निकाल्यो । पोर्चुगलले क्रिस्टियानो रोनाल्डोको गोलसहित क्रोएसियालाई २–१ ले पराजित गर्दै अर्को चरणमा स्थान बनायो भने स्विट्जरल्याण्डले अल्जेरियालाई २–० ले हरायो ।
अन्तिम दुई स्थानका लागि भएको प्रतिस्पर्धामा इजिप्टले अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गर्यो । त्यसपछि अर्जेन्टिनाले केप भर्डलाई तथा कोलम्बियाले घानालाई पराजित गर्दै अन्तिम १६ को अन्तिम दुई स्थान सुरक्षित गरे ।
यससँगै क्यानडा, ब्राजिल, पराग्वे, मोरक्को, नर्वे, फ्रान्स, मेक्सिको, इंग्ल्याण्ड, बेल्जियम, अमेरिका, स्पेन, पोर्चुगल, स्विट्जरल्याण्ड, इजिप्ट, अर्जेन्टिना र कोलम्बिया अन्तिम १६ मा पुगेका छन् ।
अब अन्तिम १६ मा क्यानडाले मोरक्कोसँग, पराग्वेले फ्रान्ससँग, ब्राजिलले नर्वेसँग, मेक्सिकोले इंग्ल्याण्डसँग, स्पेनले पोर्चुगलसँग, अमेरिकाले बेल्जियमसँग, इजिप्टले अर्जेन्टिनासँग तथा स्विट्जरल्याण्डले कोलम्बियासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।
अन्तिम १६ को खेल तालिका
शनिबार, असार २०
राति १०:४५ बजे : क्यानडा विरुद्ध मोरक्को (ह्युस्टन रङ्गशाला)
आइतबार, असार २१
राति २:४५ बजे : पराग्वे विरुद्ध फ्रान्स (फिलाडेल्फिया रङ्गशाला)
सोमबार, असार २२
राति १:४५ बजे : ब्राजिल विरुद्ध नर्वे (न्युयोर्क–न्युजर्सी रङ्गशाला)
बिहान ५:४५ बजे : मेक्सिको विरुद्ध इंग्ल्याण्ड (मेक्सिको सिटी रङ्गशाला)
मंगलबार, असार २३
राति १२:४५ बजे : स्पेन विरुद्ध पोर्चुगल (ड्यालस रङ्गशाला)
बिहान ५:४५ बजे : अमेरिका विरुद्ध बेल्जियम (सिएटल रङ्गशाला)
राति ९:४५ बजे : इजिप्ट विरुद्ध अर्जेन्टिना (एट्लान्टा रङ्गशाला)
बुधबार, असार २४
राति १:४५ बजे : स्विट्जरल्याण्ड विरुद्ध कोलम्बिया (बीसी प्लेस रङ्गशाला, भ्यानकुभर)