काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।
गएराति काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भएको थियो। केही क्षेत्रमा भने भेलबाढी आउने गरी वर्षा भएको महाशाखाले जनाएको छ ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली छ । बागमती र लुम्बिनीका केही स्थान तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने तराईमा आंशिक बदली रहनेछ । हिमाली भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ ।
त्यस्तै, लुम्बिनी र सुदूरपश्चिमका तराईका थोरै स्थान तथा मधेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कोशी, मधेश र बागमती प्रदेशमा सामान्य बदली रहने पूर्वानुमान छ । यी प्रदेशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ । साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले नदी तथा खोला आसपासका बासिन्दा र यात्रुहरूलाई विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।