काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले सानदार शुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले पराजित गरेको हो ।
आइतलबार सिंगापुर नेस्नल क्रिकेट ग्राउन्डमा नेपालले प्रस्तुत गरेको ३१४ रनको लक्ष्य पछ्याएको चीन १९।२ ओभरमा ९२ रनमै समेटियो । चीनका शेनजियान झेङले ३१, डु जियानहाओले १७ र कप्तान तियान सेनकुनले १३ रन जोडे ।
नेपालका कुशल मल्लले सर्वाधिक तीन विकेट लिए । सोमपलाल कामी र सन्दीप लामिछानेले समान दुई विकेट हात पार्दा नन्दन यादवको नाममा एक विकेट रह्यो । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा दुई विकेट गुमाएर ३१३ रन बनाएको थियो ।
यो टी–२० अन्तर्राष्ट्रियमा नेपालले बनाएको दोस्रो ठूलो योगफल हो । यसअघि नेपालले सन् २०२३ मा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो । टी–२० अन्तर्राष्ट्रियमा सर्वाधिक योगफलको कीर्गिमान भने जिम्बाबेको नाममा छ । जिम्बाबेले सन् २०२४ मा गाम्बियाविरुद्ध ३४४ रनको योगफल खडा गरेको थियो ।
नेपालका कुशल भुर्तेलले ४३ बलमा १६ छक्का र पाँच चौकाको मदतमा १२९ रन बनाए । ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो दोस्रो शतक हो । योसँगै कुशल टी–२० अन्तर्राष्ट्रियमा दुई शतक प्रहार गर्ने पहिलो नेपाली ब्याटर बनेका छन् ।
कुशलले यही खेलमार्फत टी–२० अन्तर्राष्ट्रियमा दुई हजार रन पनि पूरा गरेका छन् । यो उपलब्धि हासिल गर्ने उनी दोस्रा नेपाली ब्याटर हुन् । नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघि नै टी–२० अन्तर्राष्ट्रियमा दुई हजार १८० पूरा गरिसकेका छन् ।
कुशल मल्लले अविजित ८५ रनको योगदान गरे । उनले ४७ बलमा आठ चौका र पाँच छक्का प्रहार गरे । रोहितकुमार पौडेल ६९ रनमा अविजित रहे । उनले २१ बलमा सात छक्का र पाँच चौका प्रहार गरे । आसिफ शेखले ११ रन जोडे ।
मल्लले दोस्रो विकेटका निम्ति भुर्तेलसँग १७५ तथा तेस्रो विकेटका लागि पौडेलेसँग अविजित ११६ रनको साझेदारी गरेका थिए । चीनका मा कियानचेङ र डेङ जिन्कीले समान एक विकेट लिए ।जितसँगै समूह ‘ए’मा रहेको नेपालले दुई अंक जोडेको छ । अब नेपालले बिहीबार मलेसियाको सामना गर्नेछ ।