काठमाडौं । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनलमा पुगेको छ । गुजरातले दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै आइपिएल २०२६ को फाइनलमा स्थान बनाएको हाे ।
न्यु चण्डीगढमा शुक्रवारराती सम्पन्न भएको खेलमा २ सय १५ रनको लक्ष्य गुजरातले १८.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । गुजरातको जितमा कप्तान शुभमन गिलले शानदार शतकीय इनिङ्स खेले ।
साई सुदर्शनले ५८ रन बनाए । दुवैले सुरुदेखि नै आक्रामक ब्याटिङ गर्दै राजस्थानका बलरमाथि दबाब बनाएका थिए । गिलले ५३ बलमा १५ चौका र ३ छक्कासहित १ सय ४ रन जोडे ।
त्यसअघि टस हारेर व्याटिङ गरेको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १४ रन बनाएको थियो ।
वैभव सूर्यवंशीले यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै कुल ७ सय ७६ रन बनाए । उनको स्ट्राइक रेट २३७.३ रहेको छ । यद्यपि, उनको शानदार इनिङ्स टोलीलाई फाइनलमा पुर्याउन पर्याप्त हुन सकेन ।
यो जितसँगै गुजरातले फाइनलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसिबी) सँगकाे भेट पक्का गरेको छ । गुजरातलाई पहिलो क्वालिफायरमा हराउँदै सावक विजेता आरसिबी यसअघिने फाइनलमा पुगेको थियो । फाइनल खेल अहमदाबादमा आइतबारराती हुनेछ ।