काठमाडौं । ओपनर कुशल भुर्तेलको शतक र आशिफ शेखको अर्धशतकमा नेपालले संयुक्त राज्य अमेरिका (यूएसए) विरुद्ध शानदार जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि कृकेट रंगशालामा आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत आजको खेलमा नेपालले अमेरिकालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गरेको हो ।
टस जितेर पहिले ब्याटिङ रोजेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर १९५ रनको योग बनाएको थियो । जितका लागि १९६ रनको लक्ष्य पछ्याएको नेपालले ३६.४ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले शतक पूरा गरे । उनले ११८ बलमा १२० रन बनाएर अविजित रहे । अर्का ओपनर आशिफ शेखले ७२ बलमा ५८ रन बनाउँदै अर्धशतक पूरा गरे । राष्ट्रिय टोलीमा डेब्यू गरेका इशान पाण्डे पनि ३० बलमा २० रन बनाउँदै अविजित रहे ।
नेपालले अब आफ्नो तेस्रो खेल सोमबार स्कटल्याण्डसँग खेल्नेछ ।