काठमाडौं । देशभर पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहेकाले शुक्रबार विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मधेश, बागमती र गण्डकी प्रदेशसहित कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहेको छ।
अहिले कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। त्यस्तै मधेश, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ। अन्य प्रदेशका पहाडी र हिमाली क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
तराईका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा बदली कायम रहनेछ। ती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।