पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिकाले फालिएका वस्तुहरूको पुनःप्रयोग तथा पुनःउत्पादन गर्ने उद्देश्यले सवा दुई अर्ब रुपैयाँको लगानीमा अत्याधुनिक पुनःप्रयोग केन्द्र निर्माण कार्य अगाडि बढाएको छ।
नयाँ बजार प्रदर्शनी केन्द्र क्षेत्रमा निर्माणाधीन उक्त आयोजनाबाट प्रत्यक्ष रूपमा करिब तीन हजार जनालाई रोजगारी प्रदान गर्ने लक्ष्य लिइएको छ। महानगर प्रमुख धनराज आचार्यका अनुसार यो केन्द्रबाट नयाँ सामग्री उत्पादन गर्नुका साथै चक्रीय आर्थिक प्रणालीसम्बन्धी अध्ययन, अनुसन्धान तथा सिकाइ केन्द्रका रूपमा विकास गरिनेछ।
यस आयोजनामा दक्षिण कोरियाली सरकारको करिब दुई अर्ब पच्चीस करोड रुपैयाँ आर्थिक सहयोग रहेको छ। साथै संयुक्त राष्ट्र विकास कार्यक्रम र कोरिया अन्तर्राष्ट्रिय सहयोग निकायको सहकार्यमा आयोजना सञ्चालन भइरहेको छ। आयोजनाको कार्यान्वयनका लागि शिवालय चोकमा कार्यालय स्थापना गरी स्थानीय तहसँग समन्वय गर्दै काम अघि बढाइएको छ।
परियोजनालाई प्रभावकारी बनाउन महानगरका वडा तहमा सामुदायिक समूह गठन गरिएका छन्। ती समूहहरूलाई आवश्यक प्राविधिक उपकरण तथा अन्य सामग्री आयोजनाले उपलब्ध गराइरहेको छ।
केन्द्र सञ्चालनमा आएपछि नकुहिने फोहोरको प्रशोधन गरी त्यसबाट नयाँ वस्तु उत्पादन गरिनेछ। यस पहलले वातावरण संरक्षणका साथै स्थानीय स्तरमा रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।