काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबार सचिवालय बैठक बोलाएको छ । पार्टी सभापति रवि लामिछानेले दिउँसो साढे ३ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बैठक आह्वान गरेका हुन् ।
पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठकका लागि ६ वटा मुख्य एजेन्डा तय गरिएको छ । बैठकमा विशेषगरी जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल हुने र महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनबारे निर्णय गरिनेछ ।
त्यसैगरी पार्टीको आर्थिक व्यवस्थापन र पारदर्शितासँग सम्बन्धित बैंक खाता सञ्चालनको विषय पनि कार्यसूचीमा समावेश गरिएको छ । संगठनात्मक संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च तथा विभिन्न विभागहरूमा मनोनयनका विषयमा पनि निर्णय हुने जनाइएको छ ।
रास्वपाले यसपटक नयाँ अभ्यासका रूपमा ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’लाई पनि एजेन्डामा समेटेको छ ।
विविधअन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी तथा संसदीय दलका लागि आवश्यक प्राविधिक सहयोग र लेवी सम्बन्धी विषयमा पनि छलफल हुने प्रवक्ता झाले जानकारी दिए ।
बैठकलाई पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीका दृष्टिले महत्त्वपूर्ण मानिएको छ ।