काठमाडौं । सर्वोच्च अदालत को फैसलापछि नेपाली कांग्रेस भित्र एकता र सहकार्यको वातावरण बनेको सभापति गगन थापाले बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै सभापति थापाले अदालतको निर्णयले पार्टीलाई फेरि एकपटक साझा यात्रामा अघि बढ्ने अवसर दिएको उल्लेख गरे । उनले यो विषयलाई व्यक्तिगत जित–हारभन्दा पनि विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको रूपमा लिनुपर्ने बताए ।
थापाका अनुसार अब पार्टीका नेता तथा कार्यकर्ताले एकता, पुनरुत्थान र सुदृढीकरणका लागि अझ जिम्मेवार र सकारात्मक भूमिका खेल्न आवश्यक छ । सभापतिको हैसियतले आफूले सबैभन्दा ठूलो जिम्मेवारी वहन गर्दै सक्रिय रूपमा अगाडि बढ्ने प्रतिबद्धता पनि उनले जनाए ।
त्यस्तै, १५औँ महाधिवेशनको प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै उनले यसलाई सफल बनाउन र पार्टी रूपान्तरणको अवसरका रूपमा उपयोग गर्न आह्वान गरेका छन् ।
यसअघि सर्वोच्च अदालत का न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौला को संयुक्त इजलासले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा थापा नेतृत्वको कार्यसमितिको पक्षमा फैसला गरेको थियो ।