काठमाडौं । सशस्त्र प्रहरीले तीन अधिकारीलाई स्पष्टीकरण सोधेको छ। संगठनको नीतिविपरित व्यक्तिगत लाभका लागि शक्ति केन्द्र धाएको आरोपमा उनिहरूलाई शुक्रबार स्पष्टीकरण सोधेको हो।
स्पष्टीकरण साेधिएकामा दुई वरिष्ठ उपरीक्षक (एसएसपी) र एक जना उपरीक्षक (एसपी) रहेका हुन्। एसएसपी नेत्र कार्की र राजेश उप्रेती तथा एसपी हर्कराज पन्तलाई स्पष्टीकरण सोधिएको मुख्यालय स्रोतले जनाएको छ।
उनीहरूमाथि संगठनसँग अनुमति नलिई सिंहदरबार पुगेर लविइङ गरेकाे आरोप लगाइएको छ । व्यक्तिगत लाभका लागि धाएको पाइएपछि उनीहरूलाई स्पष्टीकरण सोधिएको मुख्यालयको दाबी छ।
सशस्त्र प्रहरीले संगठनको कामले बाहेक अनावश्यक भेटघाटमा प्रतिबन्ध लगाएको छ। तर उनीहरूले त्यसलाई चुनौती दिएको हेडक्वाटरको दाबी छ।
यसैबीच, सिंहदरबार प्रवेश गर्ने आफ्ना कर्मचारीको विवरण पनि उपलब्ध गराइदिन सशस्त्र प्रहरीले प्रहरी मुख्यालयलाई पत्राचार समेत गरेको छ।