गण्डकी । गण्डकी प्रदेशसभा सदस्य दोर्णकुमार कुँवरले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
विसं २०७९ को निर्वाचनमा बागलुङ–२ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित कुँवरले बुधबार प्रेदशसभाका सभामुख कृष्णप्रसाद धिताललाई राजीनामा पत्र पठाएका हुन् ।
सभामुख धितालले रासससँग कुराकानी गर्दै कुँवरको राजीनामा ‘ह्वाट्सएप’मार्फत आपूmलाई प्राप्त भएको जानकारी दिए । “उहाँको राजीनामा पत्र ‘ह्वाट्सएप’मार्फत मलाई प्राप्त भएको छ, प्रदेशसभा सचिवालयमा दर्ता भएपछि मात्र अरु कानुनी प्रक्रिया अगाडि बढ्छ”, सभामुख धितालले भने ।
नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य कुँवरले आजदेखि नै लागू हुने गरी उक्त पदबाट राजीनामा दिएको उल्लेख गरेका छन् । उनले आज भएको प्रदेश सरकारको मन्त्रिमण्डल पुनःगठनप्रति असन्तुष्ट रहँदै राजीनामा दिएको बुझिएको छ । कुँवरले प्रदेशसभा सदस्यको पूर्ण कार्यकाल पूरा गर्न नसकेकामा मतदाताप्रति क्षमा मागेका छन् ।