कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु

मंगलवार, बैशाख १ २०८३
मंगलवार, बैशाख १ २०८३
  • कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ सुरु

    काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने ‘जरा अभियान’ आजदेखि सुरु गरेको छ । पार्टीका सभापति गगनकुमार थापाले काठमाडौँ महानगरपालिका(३० मा आफ्नो सदस्यता अद्यावधिक गर्दै अभियानको शुभारम्भ गरेका हुन् । अभियानको सुरुआत गर्दै उनले सक्नेले यस अभियानमा सहयोग गर्न र नसक्नेले असहयोग नगर्न आग्रह गरेका छन् ।

    “मैले पार्टी सभापतिका रूपमा भनेँ, एउटा सोचका साथ म आएको छु, यो काम सम्पन्न गर्ने हो, सक्नेले मलाई सहयोग गर्नुहोला, नसक्नेले कृपया मलाई असहज अवस्था सृजना नगरिदिनुहोला । कोही साथीहरू विशेष कारणले गर्दा आफ्नो ठाउँमा जान नसक्ने हुनुहोला, कोही नेपालबाहिर हुनुहुन्छ होला, कोही अशक्त हुनुहुन्छ, पार्टीले यो परिस्थिति बुझेको छ, त्यस्ता साथीहरूका लागि हामी विशेष व्यवस्था गर्छौं”, सभापति थापाले भने । क्रियाशील सदस्यताका सम्पूर्ण विषयका लागि ‘डिजिटलाइज’ गरिएको जानकारी दिँदै उनले सदस्यता अद्यावधिकरणका काममा सम्पूर्ण साथीहरूको सहयोग आवश्यक पर्ने बताए ।

    सभापति थापाले पार्टीका जिम्मेवार व्यक्तिहरूले नबुझेका विषयका बारेमा पार्टी कार्यालय आएर महामन्त्रीसँग बुझ्न आग्रह गर्दै बाहिर अनावश्यक चर्चा नगर्न आग्रह गरे । “जिम्मेवार साथीहरू कुरा बुझ्नुभएको छैन भने पार्टीको केन्द्रीय कार्यालय आई दिनुहोला, बाहिर कुरा काट्ने, हाम्रो क्रियाशील सदस्यता खाइदियो भनेर अनावश्यक ढङ्गले कोलाहल मच्चाइदिने काम नगर्नुहोला”, उनले भने ।

    क्रियाशील सदस्यता अद्यावधिक गर्ने र पार्टीलाई पुनःर्सगठित गर्ने यस अभियानलाई कांग्रेसले जरा अभियानका रूपमा घोषणा गरेको छ । सङ्गठनलाई व्यवस्थित, सुदृढ र अद्यावधिक बनाउने उद्देश्यले सुरु गरिएको जरा अभियान वैशाख मसान्तसम्म सञ्चालन हुने सभापति थापाले जानकारी दिए ।

    यस अभियानअन्तर्गत देशभरका क्रियाशील सदस्यहरूलाई समयमै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न पार्टी सभापति थापाले आग्रह गरेका छन् । पार्टीको सदस्यता अद्यावधिक गर्न आफ्नो वडामा आफैँ जानुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ ।

    विगतमा अरूले नै सदस्यता नवीकरण गरिदिने प्रवृत्तिका कारण सदस्यहरू सक्रिय र जिम्मेवार नभएकाले आफ्नो सदस्यता नवीकरण आफ्नो ठाउँमै गएर गर्नुपर्ने व्यवस्था गर्न लागेको कांग्रेस पार्टी सभापति थापाले जानकारी दिए। पार्टीले यसलाई सङ्गठन सुदृढीकरण र अनुशासन मजबुत बनाउने महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।

    ‘एकमहिने जरामा जाऊँ अभियान’ मार्फत कांग्रेसले डिजिटल ‘कांग्रेस आइडी’ अनिवार्य गर्ने, क्रियाशील सदस्यता वडामै अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरण गर्ने र नागरिक संवाद गर्ने लक्ष्य राखेको छ । कांग्रेसले पुराना क्रियाशील सदस्यहरूको सदस्यता अद्यावधिकका लागि फारम भर्नुपर्ने, फोटो खिच्नु पर्ने प्रावधान लागू गर्ने तयारी गरेको छ । सबै क्रियाशील सदस्यहरूको वयक्तिक विवरण सङ्कलनका लागि कांग्रेसले सदस्यता अद्यावधिकका क्रममा फारम भर्ने, फोटो खिच्ने अनिवार्य प्रावधान गर्न लागेको हो । 

    कांग्रेसले नयाँ सदस्यता वितरणमा विधानको व्यवस्था प्रभावकारी ढङ्गले लागू गर्ने, नयाँ सदस्यता ‘अनलाइन’ माध्यमबाट खोल्ने, नयाँ व्यक्ति सदस्य बन्नका लागि सजिलो प्रावधानहरू राख्ने आन्तरिक तयारी गरेको छ । कांग्रेसले उक्त अभियानका क्रममा क्रियाशील सदस्यता अद्यावधिक गर्न जाँदा ‘ओटिपी’ नम्बर अनिवार्य लिन र अनिवार्य फोटो खिचाउन सबैमा आग्रह गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij