काठमाडौं । सांस्कृतिक नगरी लुम्बिनीबाट ‘नेपाल ट्रेजर कार्बन प्रा.लि’ले ‘सुधारिएको चुल्हो’ वितरण कार्यक्रम औपचारिक रूपमा सुरु गरेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१ मा नमूना वितरण गर्दै कार्यक्रमको थालनी गरिएको हो, जहाँ पहिलो दिन ४० घरपरिवारलाई निःशुल्क चुल्हो प्रदान गरिएको थियो ।
यस कार्यक्रम अन्तर्गत यस साता लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहका २ हजार ७५५ घरपरिवारलाई सुधारिएको चुल्हो वितरण गरिने लक्ष्य राखिएको संस्थाका सञ्चार संयोजक सुलोचना खतिवडाले जनकारी दिईन् । लुम्बिनी सांस्कृतिक नगरपालिका, रामग्राम नगरपालिका र पाल्हीनन्दन गाउँपालिका लगायत २४ वटा पालिकाका ग्रामीण क्षेत्रमा कार्यक्रम विस्तार गरिने पनि खतिवडाले वताईन् ।
कार्यक्रमको पहिलो चरणमा लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक उपमेयर कल्पना हरिजन र ‘नेपाल ट्रेजर कार्बन प्रा।लि’का अध्यक्ष निकेश अधिकारीले संयुक्त रूपमा चुल्हो वितरण गरेका थिए । देशव्यापी रूपमा ५ लाख घरपरिवारलाई सुधारिएको चुल्हो वितरण गर्ने दीर्घकालीन लक्ष्यसहित लुम्बिनीबाट अभियान सुरु गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
सुधारिएको चुल्होले परम्परागत दाउरा बाल्ने चुल्होबाट हुने धुवाँजन्य प्रदूषण घटाउने, दाउराको खपत कम गर्ने तथा खाना पकाउने समय घटाउने छ । यसले विशेषगरी धुवाँमा काम गर्न बाध्य महिलाहरू र बालबालिकाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
संस्थाकी प्रबन्ध निर्देशक समीक्षा बरालका अनुसार अझै पनि ग्रामीण क्षेत्रमा ठूलो संख्यामा घरपरिवार परम्परागत चुल्होमै निर्भर छन्, जसका कारण श्वासप्रश्वाससम्बन्धी समस्या बढिरहेको छ । सुधारिएको चुल्होले यस्तो समस्या न्यूनीकरण गर्दै घरपरिवारको खर्चसमेत घटाउने उनको भनाइ छ ।

यस्तै, सिद्धार्थनगर नगरपालिका–९ भैरहवामा पनि सुधारिएको चुल्हो वितरणका लागि सम्झौता भइसकेको छ । उक्त सम्झौता अनुसार ६ महिनाभित्र वितरण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
कार्बन उत्सर्जन घटाई जलवायु परिवर्तनको असर कम गर्ने उद्देश्यसहित सञ्चालन गरिएको यो कार्यक्रम ‘नेपाल ट्रेजर कार्बन’को देशव्यापी अभियानको एक हिस्सा हो । ललितपुरको खुमलटारस्थित कार्यालयबाट सञ्चालन हुँदै आएको संस्थाले हरित अर्थतन्त्र प्रवद्र्धनमा काम गर्दै आएको छ ।