काठमाडौं । ललितपुरको पाटनमा चक्कु प्रहार गरी दाजुभाईको हत्या गरिएको छ । पाटनस्थित कृष्णमन्दिरअगाडि बुधबारसाँझ भएको सो घटनामा परेर झापाका २६ वर्षीय सिर्जन नेम्बाङ र ३३ वर्षीय सुमित नेम्बाङको ज्यान गरेको हो ।
घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बीएन्डबी अस्पताल लगिएकामा मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुर प्रहरीको टोलीले मुख्य आरोपित सन्जीब नेपालीलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा घाइते भएका नेम्बाङ दाजुभाइको फोन आरोपित सन्जीब नेपालीको नम्बरमा जाँदा विवाद भएको खुलेको छ । नेम्बाङ दाजुभाइ र अपरिचित नेपालीबीच फोनमै भनाभन भएपछि इमाडोल बस्ने नेम्बाङ दाजुभाइ नेपालीलाई भेट्न कृष्णमन्दिर पुगेका थिए ।
मासु पसलमा कामगर्ने नेपालीले २ जनालाई चक्कु प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि भाग्दै गरेको अवस्थामा पक्राउ गरेर अनुसन्धान अघि बढाएको ललितपुर प्रहरीले जनाएको छ ।