सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

मंगलवार, चैत्र २४ २०८२
मंगलवार, चैत्र २४ २०८२
  • सरकारी विज्ञापन रोक्ने निर्णयविरुद्ध प्रेस युनियनले देशव्यापी कार्यक्रम गर्ने

    काठमाडौं। नेपाल प्रेस युनियनले सरकारी विज्ञापन निजी मिडियामा प्रकाशन–प्रसारण गर्न रोक लगाउने निर्णयविरुद्ध देशव्यापी कार्यक्रम गर्ने भएको छ । युनियनका सबै प्रदेश र जिल्ला शाखाले अन्तरक्रिया कार्यक्रम गर्न लागेका हुन् । 

    युनियनका महासचिव दिलीप पौडेलद्वारा प्रेसित परिपत्रमा नेपाल प्रेस युनयनका सबै प्रदेश, जिल्ला शाखा तथा प्रतिष्ठान शाखालाई सरकारी विज्ञापन रोक्दा निजी मिडियामा पर्ने असरका बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गर्न भनिएको छ । सो कार्यक्रम गरी प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन दिइएको महासचिव दिलिप पौडेलले बताए । 

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले हालै जारी गरेको निर्देशनअनुसार सबै प्रकारका सरकारी  सूचना र विज्ञापन सरकारी स्वामित्वका सञ्चार माध्यमबाट मात्र प्रकाशन–प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ । उक्त निर्णयले निजी तथा स्वतन्त्र मिडियामा गम्भीर आर्थिक संकट निम्त्याउने, रोजगारी गुम्ने, सञ्चारगृह बन्द हुने तथा सूचनाको पहुंच घट्ने जोखिम रहेको युनियनका महासचिव दिलीप पौडेलले बताए । 

    त्यसरी आयोजना हुने कार्यक्रममा मिडिया  सञ्चालक, सम्पादक, पत्रकार, विज्ञापन एजेन्सी, कानुनविद् तथा सञ्चार विज्ञहरूलाई सहभागी गराई सरकारी निर्णयको प्रभावबारे व्यापक छलफल गरिने जनाइएको छ । साथै, छलफलबाट प्राप्त निष्कर्ष, सुझाव र सिफारिससहितको प्रतिवेदन २०८२ चैत ३० गतेभित्र केन्द्रीय कार्यालयमा पठाउन आग्रह गरिएको छ । 

    सरकारको निर्णयले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामा प्रत्यक्ष असर पर्ने नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले बताए । “सरकारी विज्ञापनलाई पूर्ण रूपमा सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्नु प्रतिस्पर्धात्मक मिडिया वातावरणविरुद्धको कदम हो,” उनले भने, “यसले निजी मिडियाको अस्तित्वमै चुनौती सिर्जना गर्छ र नागरिकको सन्तुलित सूचना पाउने अधिकारसमेत कमजोर बनाउँछ ।” 

    युनियनले पारदर्शी विज्ञापन वितरण प्रणाली, मितव्ययिता कायम गर्दै निजी मिडियालाई समेत समेट्ने नीतिगत व्यवस्था गर्न सरकारसँग मागसमेत गरेको छ । सरोकारवालाको सहभागितामा ठोस सुझाव देशभरबाट संकलन गरेर तयार गरी सरकारसमक्ष प्रस्तुत गर्ने युनियनले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij