काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले चलाएको सरकारी गाडी कलंकी चोकमा दुर्घटनामा परेको छ । शनिबार सार्वजनिक बिदाको दिन दिउँसो करिब २ बजेतिर सरकारी नम्बर प्लेट बा ७६५४ को गाडी आफैंले चलाइरहेका भट्टले कलंकीस्थित कंक्रिट डिभाइडरमा ठोक्काएका हुन् ।

दुर्घटनापछि स्थानीयले चालक भट्टलाई मापसे गरेर गाडी चलाएको भन्दै सामान्य कुटपिटसमेत गरेको स्थानीयले बताए । त्यसपछि घटनास्थल पुगेको ट्राफिक प्रहरीले भट्टलाई नियन्त्रणमा लिएको थियो । भट्टलाई स्वास्थ्य परिक्षण गरेर छाडेको टाफिक प्रहरीले जनाएको छ ।
स्थानीयले भट्टले मादक पदार्थ सेवन गरेर गाडी चलाएको आरोप लगाउँदै कारबाहीको माग गर्दै केहिवेर नाराबाजी गरेका थिए । त्यसकाे भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

तर ट्राफिक प्रहरीको ब्रेथलाइजर परीक्षणमा उनले मादक पदार्थ सेवन नगरेको देखिएको प्रहरीले जनाएको छ । त्यसपछि भट्टकाे स्वास्थ्य परिक्षण गर्न लगिएको प्रहरीले जनाएको छ । दुर्घटनामा कारको अगाडिको भागमा ठूलो क्षति पुगेको छ ।
प्रत्यक्षदर्शीका अनुसार कार तीव्र गतिमा आएर डिभाइडरमा ठोक्किएको थियो भने त्यसपछि लेन मिचेर भाग्न खोज्दा स्थानीयले घेराउ गरी गाडी रोकेर भट्टलाई नियन्त्रणमा लिएका थिए ।
कलंकीस्थित ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजिव बस्नेतले घटनाबारे थप अनुसन्धान भइरहेको बताए । घट्ना बारे बुझ्न खाेज्दा भट्टले फाेन उठाएनन् ।