काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विषयमा कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ ।
ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आज बसेको सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न माग गर्दै दुवै तहबाट प्रतिवाद अघि बढाउने निष्कर्ष निकालेको हो ।
बैठकपछि पार्टी सचिव महेश बस्नेत ले आजै देशभरका जिल्लाको सदरमुकाममा जनसंगठनमार्फत विरोध प्रदर्शन गर्ने निर्णय भएको जानकारी दिए । उनका अनुसार भोलि जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यालयमा विरोधपत्र बुझाइनेछ ।
एमालेले यस विषयमा अन्य राजनीतिक दलहरूसँग पनि संवाद र सहकार्य गर्ने जनाएको छ ।
यसैबीच अध्यक्ष ओली पक्राउको विरोधमा बिहानै काठमाडौंको चाबहिल चोकमा नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका छन् ।
आज बिहानै प्रहरीले पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई उनीहरूको निवासबाट पक्राउ गरेको हो । लेखक पक्राउबारे नेपाली कांग्रेस भित्र पनि आन्तरिक परामर्श भइरहेको छ । कांग्रेस नेताहरूले परामर्शपछि आधिकारिक धारणा सार्वजनिक गर्ने बताएका छन् ।