काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेकोमा एमाले नेताहरूले विरोध गरेका छन् ।
लालबाबु पण्डित
एमालेका नेता एवं पूर्वमन्त्री लालबाबु पण्डितले वर्तमान सरकारको पहिलो निर्णय नै प्रतिशोधपूर्ण भएको टिप्पणी गरेका छन् । देशका पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर सरकारले राजनीतिक प्रतिशोधको शुरुवात गरेको उनले आरोप लगाएका हुन् ।
उनले प्रतिशोधको राजनीतिले राजनीतिक स्थायित्व र सुशासन नभई द्वन्द्वको अवस्था निम्त्याउने चेतावनी दिए । पण्डितकाअनुसार पार्टीले राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्नेछ ।
छविलाल विश्वकर्मा
एमालेका सचिव छविलाल विश्वकर्माले पार्टी अध्यक्ष ओली पक्राउको घटनाक्रमलाई राजनीतिक र कानूनी दुवै रूपमा प्रतिवाद गर्ने बताएका छन् ।
प्रदीप ज्ञवाली
त्यस्तै नेकपा एमालेका नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवालीले पार्टी अध्यक्ष ओलीलाई पक्राउ गरेर ‘राजनीतिक प्रतिशोध’ साँधिएको बताएका छन् । उनले सरकारका कदमहरू पूर्वाग्रही रहेको भन्दै यसको प्रतिवाद गर्ने चेतावनी दिए । ज्ञवालीले एमाले विरुद्ध भइरहेका घेराबन्दीलाई चिर्न पार्टीले देशव्यापी अभियान सञ्चालन गर्ने समेत संकेत गरे ।
विशाल भट्टराई
एमालेका अर्का नेता विशाल भट्टराईले सरकारले प्रतिशोधको राजनीति शुरु गरेको आरोप लगाउएका छन् । कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको पछिल्लो कदमलाई उनले पूर्वाग्रहपूर्ण र निन्दनीय भएको बताउएका हुन् । नेता भट्टराईकाअनुसार कार्की आयोगको प्रतिवेदन आफैँमा विवादित छ । यो कदमको कानूनी र संसदीय दुवै मोर्चाबाट प्रतिवाद गर्ने उनको चेतावनी छ ।
गोकर्ण विष्ट
एमालेका उपाध्यक्ष गोकर्ण विष्टले पार्टी अध्यक्षको गिरफ्तारीलाई ‘राजनीतिक प्रतिशोध’ को संज्ञा दिएका छन् । पार्टी केन्द्रीय कार्यालयमा पत्रकारसँग बोल्दै उपाध्यक्ष विष्टले सरकारको यो कदमको कडा निन्दा गरेका हुन् ।
खगराज अधिकारी
एमालेका नेता एवं पूर्वमन्त्री खगराज अधिकारीले पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्नु गैरकानुनी र प्रतिशोधपूर्ण भन्दै विरोध गरेका छन् ।
रघुजी पन्त
एमालेका उपाध्यक्ष रघुजी पन्तले पार्टी अध्यक्ष ओलीमाथि लगाइएका कानूनी दफाहरुको कुनै आधार नभएको दाबी गरेका छन् ।
पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीलाई सरकारले ज्यान सम्बन्धी कसुरमा आज बिहान भक्तपुरको गुण्डुमा रहेको निवासबाट पक्राउ गरेको हो ।