काठमाडौं । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि आकस्मिक सचिवालय बैठक बोलाएको छ । सचिव महेश बस्नेतका अनुसार आज बिहान साढे ८ बजेका लागि बैठक तय गरिएको हो ।
ओली पक्राउको विषयमा छलफल गरी पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न बैठक बोलाइएको बस्नेतले जानकारी दिए । उनका अनुसार बैठकले आगामी रणनीति तथा आन्दोलनका कार्यक्रमसमेत तय गर्नेछ ।
बस्नेतले सरकार राजनीतिक प्रतिशोध र पूर्वाग्रहको बाटोमा अघि बढेको आरोप लगाउँदै एमालेले आजैदेखि आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत् प्रदर्शनका कार्यक्रम छिट्टै सार्वजनिक गरिने बताएका छन् ।
पूर्वप्रधानमन्त्री ओलीलाई शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसम्बन्धी छानबिन आयोगको प्रतिवेदनका आधारमा नवगठित सरकारले उनलाई नियन्त्रणमा लिएको बताइएको छ । हाल उनलाई काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ ।
बस्नेतले पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउसमेतले देशमा द्वन्द्व बढ्ने अवस्था सिर्जना गरेको दाबी गरेका छन् । उनले यस्तो कदमले राजनीतिक प्रतिशोधको झल्को दिएको आरोप लगाए ।
“लोकतन्त्रका लागि संघर्ष गरेका नेताहरूलाई पक्राउ गर्न प्रहरी व्यापक रूपमा परिचालित हुनु दुःखद हो,” बस्नेतले भनेका छन् ।