भक्तपुर । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई प्रहरीले पक्राउ गरेको छ । उनलाई शनिबार भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ गरिएको हो ।
अपराध अनुसन्धान कार्यालय टेकुको टोली, एसएसपी सन्तोष खड्काको नेतृत्वमा, ओली निवासमा प्रवेश गरी पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गर्न शुक्रबार रातिदेखि नै प्रहरी टोली गुण्डुमा परिचालन गरिएको थियो । प्रहरीले ओलीलाई जरुरी पक्राउ पुर्जीसमेत थमाएको छ ।
शुक्रबार नयाँ सरकार गठनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सोही प्रतिवेदनका आधारमा ओलीसहित तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्ध फौजदारी मुद्दामा अनुसन्धान अघि बढाइएको हो ।
आयोगले चैत २४ मा बुझाएको प्रतिवेदनमा भदौ २३ र २४ मा भएको जेनजी प्रदर्शनका क्रममा काठमाडौंको बानेश्वरमा किशोरहरूमाथि गोली प्रहार गरिएको घटनामा ओली र लेखकलाई जिम्मेवार ठहर गर्दै कारबाही सिफारिस गरेको थियो ।
उक्त प्रदर्शनका क्रममा ७६ जनाको मृत्यु भएको तथ्य आयोगले उल्लेख गरेको छ । घटनासम्बन्धी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
