नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड केहिवेरअघि आंशिक सञ्चालनमा आएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा सडक चिप्लो र हिलो भएपछि रोकिएका यातायात एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
हिउँदे वर्षा रोकिए पछि सडकमा जमेको हिलो तथा दाउन्ने पहाडबाट लेदो माटो बग्ने क्रम नरोकिँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी उपरीक्षक युवराज खड्काले बताए । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर आसपास क्षेत्रमा सडक हिलो र चिप्लो हुँदा सवारीसाधन उकालो चढ्न नसकेर बीच बाटोमै फसिरहेको बताइएको छ ।
दाउन्ने खण्डमा सडक विस्तारको काम जारी रहेकाले सामान्य वर्षामा समेत सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको छ । अवरुद्ध सडक पुर्ण रुपमा खुलाउन मर्मत तथा सुधारको प्रयास भइरहेको आयोजनाले जानकारी दिएको छ ।
यसैबीच, नारायणघाट–बुटवल सडक योजना कार्यालयले चैत ८ गतेसम्म प्रत्येक दिन बेलुका ७ः०० देखि बिहान ५ः०० बजेसम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।