काठमाडौं । देशभर सक्रिय रहेको वर्षा प्रणाली पूर्वतर्फ सर्दै गएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका अधिकांश स्थानमा बदली रहेको छ भने लुम्बिनी र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा कर्णाली, बागमती र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा भइरहेको छ ।
पछिल्लो एक घण्टाको अवस्थाअनुसार वर्षा गराउने प्रणाली मध्य नेपालमा केन्द्रित रहेको र विस्तारै पूर्वतिर सर्दै गएको महाशाखाले जनाएको छ । आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार विशेषगरी दिउँसोपछि मध्य र पूर्वी क्षेत्रमा हावाहुरीसहित मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा हुने अनुमान गरिएको छ । यसअघि हिजो पश्चिम र मध्य क्षेत्रमा मध्यम वर्षा भएको थियो भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो ।
आज रातिदेखि भने मौसममा क्रमिक सुधार आउने अपेक्षा गरिएको छ ।
यस्तै, हावाहुरीका बेला रुख ढल्ने, कमजोर संरचना तथा छाना उड्ने, विद्युत् र सञ्चार सेवा अवरुद्ध हुने तथा हवाई र सडक यातायात प्रभावित हुन सक्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । मौसमविद्हरूले हावाहुरी र चट्याङ परेको बेला सकेसम्म घरभित्रै बस्न र बाहिर हुँदा सुरक्षित स्थानमा आश्रय लिन सुझाव दिएका छन् ।