भक्तपुर । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले चाँगुनारायण नगरपालिका दुवाकोटका स्थानीयवासीलाई उपचार शुल्कमा २५ प्रतिशत छुट दिने भएको छ ।
चाँगुनारायण नगरपालिका–१ र २ को क्षेत्रभित्र सञ्चालित उक्त अस्पतालले स्थानीय जनप्रतिनिधिको मागलाई ध्यानमा राख्दै स्थानीयवासीलाई सहज र सुलभ स्वास्थ्य उपचार सेवा प्रदान गर्नका लागि छुटको व्यवस्था गरेको जनाइएको छ ।
अस्पतालले दुवाकोटमा शैक्षिक कार्यक्रमतर्फ चिकित्सा, नर्सिङ, डेण्टललगायतको कोर्ष सञ्चालन गर्दै आइरहेको छ भने स्वास्थ्य सेवा पनि प्रवाह गरिरहेको छ ।
चाँगुनारायण नगरपालिका–१ का वडाध्यक्ष सिजन कार्की, वडा नं २ का वडाध्यक्ष सोम प्रधान र अस्पताल प्रशासनका तर्फबाट नारायणप्रसाद दाहालले लिखित सम्झौता पत्रमा हस्तक्षर गरे । सम्झौता आजैबाट लागू हुने उल्लेख छ ।
अस्पतालले स्थानीयवासीको परिचयपत्र खुल्ने कुनै पनि परिचयपत्र लिएर अस्पताल आउँदा अस्पतालमा सञ्चालित सेवाहरूमा लाग्ने शुल्कमा २५ प्रतिशत छुट दिने सहमति गरेको वडा नं १ का वडाध्यक्ष कार्कीले जानकारी दिए । उनले भने,“सम्झौता आजबाटै लागू भइसक्यो, छुट सेवा लिएर उपचार गर्न अब टाढा जानुपर्दैन । दुवाकोटवासीले २५ प्रतिशत छुटमा आजैबाट उपचारको सेवा पाउँनेछन्, यसबाट यहाँका बिरामीलाई ठूलो राहत मिल्ने अपेक्षा गरेका छौँ ।”
अस्पतालले नेपाल सरकारद्धारा सञ्चालित स्वास्थ्य सेवा एवं सुविधामध्येको सामाजिक सुरक्षा कोष, स्वास्थ्य बिमा, विपन्न नागरिक, ज्येष्ठ नागरिक र औषधि उपचार कोषमा आवद्ध भएकाको हकमा सरकारले उपलब्ध गराएको सुविधा लिएपछि मात्रै अस्पतालले दिने छुट सेवा पाइने र अन्यको हकमा भने सुरुबाटै २५ प्रतिशत छुटको व्यवस्था गरिने सम्झौतामा उल्लेख छ ।