उदयपुर । हावाहुरीले रुख ढाल्दा उदयपुरमा २ जनाको ज्यान गएको छ। थप ५ जना घाइते भएका छन् ।
कटारी नगरपालिका–५ तिनकुनेचोक नजिक वीरेन्द्र चौधरीको पसलमाथि सोमवार साँझ सालको रुख ढल्दा ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनामा चौधरीकी नातिनी अन्दाजी ५ वर्षीया बिनिषा चौधरी, कटारी नगरपालिका–३ आहालडाँडाका २७ वर्षीय युवराज कार्की घाइते भएका छन् ।
त्यस्तै वडा नं। ५ बलाहाका ४६ वर्षीय लीलाबहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी नगरपालिका–१२ बसेरीकी १६ वर्षीया अस्मिता परियार घाइते भएको प्रहरीले जनाएको छ। घरभित्र थिचिएकी बालिका बिनिषालाई करिब एक घण्टापछि प्रहरीले उद्धार गरेको जनाइएको छ।
यस्तै, कटारी नगरपालिका–८ थलियाटारमा पनि हुरीले झारेको रुखको हाँगा लागेर ४९ वर्षीया मिनामाया तामाङको मृत्यु भएको छ। गोठबाट खसीबाख्रा घरतर्फ सार्ने क्रममा उनलाई रुखको हाँगाले लागेको थियो ।
घाइते तामाङलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट प्रहरी टोली खटिएर उद्धार तथा अनुसन्धान कार्य गरिरहेको छ।