काठमाडौं । पाकिस्तानले अफगानिस्तानमा गएराती गरेको हवाई हमलामा चारसय बढीको ज्यान गएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाको लडाकु विमानले राजधानी काबुलका अस्पताल लगायतका स्थानमा आक्रमण गरेको हो।
सो घट्नामा परेर २५० भन्दा बढी घाइते भएका छन्। रिपोर्टका अनुसार, दारुल अमान, अर्जन किमात, खैरखाना र काबुल अन्तर्राष्ट्रिय विमानस्थल वरपरका धेरै स्थानहरूमा विस्फोट र गोलीबारी सुनिएको थियो।
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले काबुलको लागुऔषध पुनर्स्थापना अस्पतालमा बमबारी गरेको बताए । तालिबानले आक्रमणको कडा निन्दा गर्दै यसलाई मानवताविरुद्धको अपराध भनेको छ।
पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफका प्रवक्ता मोशरफ जैदीले आरोपलाई निराधार भन्दै काबुलको कुनै पनि अस्पतालमा आक्रमण नगरिएको दाबी गरेका छन्। पाकिस्तानको सूचना मन्त्रालयले काबुल र नान्गारहारमा रहेका सैन्य अड्डा, प्राविधिक उपकरण डिपो र हतियार भण्डारलाई निसाना बनाइएको बताएको छ ।