काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचनले नेकपा एमालेका इन्द्रधारा विष्टलाई पराजित गर्दै विजयी भएका हुन् ।
निर्वाचनको अन्तिम मतपरिणाम अनुसार गौचनले ३ हजार ३ सय ७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी विष्टले १ हजार ८ सय ६ मत पाएका छन् । यससँगै गौचन १ हजार ५ सय १ मतान्तरले विजयी भएका हुन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका अद्वितीय चन्द्र थकालीले ७ सय ५९ मत प्राप्त गरेका छन् भने अन्य दलका उम्मेदवारहरू निकै कम मतमा सीमित भएका छन् ।
गौचन यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यतिबेला उनले ३ हजार ९ सय ९६ मत प्राप्त गर्दा नेकपा एमालेका प्रेमप्रसाद तुलाचनले ३ हजार ७८ मत पाएका थिए ।
३२ वर्षीय गौचन थासाङ गाउँपालिका–लेतेका स्थायी बासिन्दा हुन् । उनले व्यवसाय व्यवस्थापन विषयमा स्नातक अध्ययन गरेका छन् । पर्यटन तथा होटल व्यवसायमा संलग्न उनी नेपाली कांग्रेस मुस्ताङका सभापति रोमी गौचन थकालीका छोरा पनि हुन् ।