भक्तपुर । मतदान सम्पन्न भएसंगै भक्तपुरमा मतगणनाको तयारी शुरू गरिएको छ । प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालका अनुसार, सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएसंगै मुचुल्का बनाएर मतपेटिका सम्बन्धित मतगणना स्थलमा ल्याउने काम भइरहेको छ ।
वेलुकी सात वजेसम्ममा मतपेटिका ढुवानी सम्पन्न गरेर सर्वदलीयर सर्वपक्षीय वैठकको आयोजना गरि मतगणना शुरू गरिने प्रजिअ ढकालको भनाई छ ।

जिल्लाका दुई वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ को मतगणना बिधुत प्राधिकरणको तालिम केन्द्र खरिपाटीमा हुने भएको छ । त्यसैगरी क्षेत्र नं. २ को मतगणना मध्यपुर थिमिको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा हुने सहायक प्रमुख जिल्ला अधिकारी शुरेस आचार्यले बताए ।
सहायक प्रजिअ आचार्यका अनुसार, मतगणना हुने दुवै स्थानमा तारजाली, सिसी क्यामेरासहितको शुरक्षित स्थान निर्माण गरिएको छ। दुवै स्थानमा एकैपटक चार(चार स्थानमा मतगणना गर्नेगरी तयारी गरिएको छ ।

भक्तपुरका दुई निर्वाचन क्षेत्रका ७६ मतदान स्थलका २३३ मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।