काठमाडौं । न्युजिल्यान्ड आईसीसी टी-२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । भारतको कोलकतास्थित इडेन गार्डेनमा बुधबारराती सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो ।
न्युजिल्यान्डको जितमा फिन एलेन नायक बने ।उनको सानदार शतकमा न्युजिल्यान्डले१६९ रनको लक्ष्य १२.५ ओभरमा एक विकेटको क्षतिमा भेट्टायो ।
जारी विश्वकपमा सबैभन्दा कम बलमा शतकको रेकर्ड बनाउँदै एलेनले ३३ बलमा १० चौका र ८ छक्का प्रहार गर्दै शतकीय पारी खेले । ओपनर टीम शेफर्टले ५८ रन बनाएका थिए ।
दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि मार्को यान्सनले सर्वाधिक ५५ रन प्रहार गरे ।
डेवाल्ड ब्रेभिसले ३४ रन थपे । यस्तै ट्राइस्टन स्टब्सले २९ रनको योगदान गरे । एडन मार्क्रमले १८ रन जोडे । क्विन्टन डी कक १० रनमा आउट भए । न्युजिल्यान्डका लागि म्याट हेनरी र कोल मेकोनी र रचिन रविन्द्र समान २ विकेट लिए ।
यस संस्करणमा सेमिफाइनलसम्मको यात्रा तय गर्दा लगातार सात खेलमा जित हात पारेको दक्षिण अफ्रिका हारसँगै विश्वकपबाट बाहिरिएको छ ।