भक्तपुर । भक्तपुरमा प्रतिनिधि सभा निर्वाचनको तयारी पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख प्रकाश मगरका अनुसार, मतदान अधिकृत सहितको टोली आवश्यक सम्पूर्ण सामाग्रीसहित सबै मतदान केन्द्रमा पुगेर सर्वदलीय र सर्वपक्षीय वैठक सम्पन्न गरिसकेका छन् ।
अहिले मतदान स्थल निर्माणको काम धमाधम भइरहेको मगरले जानकारी दिए । भक्तपुर जिल्लाका दुई निर्वाचन क्षेत्रका ७६ मतदान स्थलमा २३३ मतदान केन्द्र निर्धारण गरिएको छ ।
प्रत्येक निर्वाचन केन्द्रमा छ जना कर्मचारी र तीनजना स्वयंसेवक खटाइएको छ । मतदान सम्पन्न गर्न जिल्लामा एक हजार चार सय कर्मचारी र सात सय स्वयंसेवक खटाइएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताए ।
प्रजिअ ढकालका अनुसार, शान्तिपूर्ण रूपमा मतदान सम्पन्न गर्न निर्वाचन प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनागरी तीन हजारबढी सुरक्षाकर्मी परिचालन गरिएको छ। अधिकाँश मतदान केन्द्रमा शुरक्षालाई मध्यनजर गर्दै सिसी क्यामेराको व्यवस्था गरिएको छ । जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नकै लागि ५० वटा भन्दाबढी मोवाइल टोलिका गाडी खटाएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।
त्यसका अलवा निर्वाचनमा नखटिएका कर्मचारीलाई समानुपातिकमा मतदान गर्न भक्तपुर क्याम्पसमा अस्थायी मतदान केन्द्रको व्यवस्था मिलाइएको छ । भक्तपुरको खरिपाटी र बोडेस्थीत कृषि विकास बैंकको तालिम केन्द्रस्थित मतगणना स्थलमा सिसी क्यामेरा र तारजाली लगाउने काम भइरहेको बताइएको छ ।