काठमाडौं । इरानले यूएईमा गरेको आक्रमणमा परेर एक नेपालीसहित तीनजनाको मृत्यु भएको छ । यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार एक नेपालीसहित तीन जनाको मृत्युु भएपनि नाम भने खुलेको छैन ।
सो घटनामा एक पाकिस्तानी र एक बंगलादेशी नागरिकको पनि मृत्यु भएको बताइएको छ । घटनामा ५८ जना घाइते भएको समाचारमा उल्लेख छ ।घाइते हुनेहरूमा यूएई, इजिप्ट, इथियोपिया, फिलिपिन्स, पाकिस्तान, इरान, भारत, बंगलादेश, श्रीलंका, अजरबैजानका नागरिक छन् । त्यस्तै सामान्य यमन, युगान्डा, इरिट्रिया, लेबनान र अफगानिस्तानका नागरिक रहेको जनाइएको छ ।
संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले फेब्रुअरी फागुन १५ मा इरानी आक्रमण सुरु भएयता देशको वायुसेना र हवाई प्रतिरक्षा प्रणालीले १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा इरानी ड्रोनको सामना गरेको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार, आक्रमणको दोस्रो बिहान सशस्त्र बलले २० वटा ब्यालेस्टिक मिसाइल नष्ट गरेको र आठवटा मिसाइल समुद्रमा खसेका छन् ।
यसका साथै, दुईवटा क्रुज मिसाइल र ३११ वटा ड्रोन नष्ट गरिएको तथा २१ वटा ड्रोनले नागरिक लक्ष्यहरूमा प्रहार गरेको उल्लेख गरिएको छ ।
त्यस क्रममा ३५ वटा ड्रोन देशको सीमाभित्र खसेर भौतिक क्षति पुर्याएको बताइएको छ ।